काेभिड संक्रमितका लागि महासंघद्वारा ‘हेल्लो डाक्टर’ कार्यक्रम शुरू

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षामा सहयोग गर्न ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको छ । विपत्तीमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महासंघले यस्तो अभियान सुरु गरेको जनाएको छ ।

अभियानअन्तर्गत पहिलो कार्यक्रमका रुपमा ‘हेल्लो डाक्टर’ सेवा सुरु गरेको छ । उक्त कार्यक्रममार्फत चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा फोनबाट सेवा दिने जनाएको छ ।

कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्ने महासंघले जनाएको छ ।

भाइवरको सहकार्य रहेको यस कार्यक्रममा भाइबरमार्फत कोभिड संक्रमित विरामी र चिकित्सक बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइने बताएको छ ।

महासंघका अनुसार सुरुमा ५ जना चिकित्सकबाट परामर्शको कार्य थालनी गरिने छ । बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरले भिडियो कल मार्फत विरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितलाई प्रविधिको प्रयोग मार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको सुरु गरिएको महासंघले जनाएको छ । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

प्रतिक्रिया