बढ्यो राजनीतिक सरगर्मी !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ अर्थात् भोलि संसद्बाट विश्वासको मत लिँदैछन् । ओलीले विश्वासको मत लिने निर्णय गरेलगत्तै बढेको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।

यतिबेला सबै दल आन्तरिक रणनीति बनाउनमा व्यस्त छन् । खासगरी २७ गतेको सदनमा कसरी प्रस्तुत हुने भनेर ।

यतिबेला सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल एकापट्टि उभिएपछि सत्तारुढ एमाले अल्पमतमा परेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा)सँगै अन्य केही साना दल एक कित्तामा उभिएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका हुन् ।
यसबीचमा प्रधानमन्त्री ओलीको दौडधुप बढ्यो । उनी दिनमै दुई पटकसम्म शीतल निवास धाए । कहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेर विश्वासको मतसमेत मागे । तर, ओलीलाई हटाउने सही समय आएको विश्लेषणसहित बसिरहेको कांग्रेसले ‘दिन्छौँ’ भनेर भन्ने कुरै भएन । ‘विश्वासको मत दिनुस्’ भन्ने ओलीको सवालमा देउवाले भने– ‘तपाईं लोकतान्त्रिक बाटोभन्दा अलग बाटोमा लाग्नुभयो । हामी विश्वासको मत दिन्नौँ ।’

त्यसो त शनिवार कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवा निर्धक्क र प्रष्ट देखिए । नयाँ सरकार गठनको प्रक्रियामा किन कांग्रेस चुकेको भन्ने पत्रकारहरुको प्रश्नमा ‘स्यौर सट्’को प्रसङ्ग जोड्दै आएका देउवाले संसदीय दलको बैठकमा भने– ‘जसरी भएपनि ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नुपर्छ । सही समय यही नै हो ।’ अहिले पनि कांग्रस आन्तरिक रणनीतिसमेत बनाइरहेको छ ।

यता माओवादी केन्द्र पनि आन्तरिक रणनीतिमा जुटेको छ । ओली नेतृत्वको सरकारलाई हटाउने विषयमा कांग्रेससँग एकधार देखिएको माओवादी पनि नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिन्छ । ‘हामी कुनै पनि हालतमा नयाँ सरकार गठन गरेरै छाड्छौँ,’ माओवादीका एक नेताले मकालु खबरसँग भने– ‘ओली सत्तामा रहँदासम्म नेपालमा केही हुँदैन, राजनीतिक तथा सामाजिक संकट मात्रै आउँछ । लोकतन्त्र मात्रै धरापमा पर्छ ।’

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये दोस्रो ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बनाएरै भएपनि ओलीलाई हटाउने संकल्पमा माओवादी छ । ती नेताले भने– ‘अहिलेको हाम्रो माग भनेकै जसरी भएपनि ओली हट्नुपर्छ भन्ने हो । अरु काम विस्तारै भइहाल्छन् ।’

यता विपक्षी गठबन्धनलाई साथ दिने निष्कर्षमा पुगेको भट्टराई–यादवपक्षीय जसपा पनि आन्तरिक छलफल छ । यसअघि ओलीलाई साथ दिने भन्दै आएको महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जसपाले पनि ओलीलाई नै साथ दिने भनेर भनिसकेको छैन । यसअघि विभिन्न १५ मुद्दाका १२० तत्कालीन राजपाका नेतालाई रिहा गरेपछि ओलीलाई साथ दिने अवस्थामा पुगेको यो जसपा लुम्बिनी प्रदेशको ‘राजनीतिक सन्दर्भ’ले बिच्केको छ । यसैले अहिलेसम्म भोलिको सदनमा कसको समर्थन गर्ने भन्नेबारे ठाकुर–महतोपक्षीय जसपा अनिर्णित नै देखिन्छ ।

अहिले महन्थ–महतो देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच सत्ता साझेदारीबारे कुराकानी भइरहेको बुझिएको छ । नेता केशव झाले मकालु खबरसँग भने– ‘यही समसामयिक विषयमा कुराकानी गर्न उहाँहरु बुढानीलकण्ठ जानुभएको भन्ने बुझेको छु । खासगरी भोलि कसरी जाने वा प्रस्तुत हुने भन्ने कुरा नै हो ।’

अहिले प्रधानमन्त्री ओली भने संवैधानिक परिषद्को बैठकमा व्यस्त छन् । प्रमुख प्रतिपक्षी नेता तथा सभामुखको विरोधको बाबजुद जारी रहेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र जबरा र राष्ट्रियका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित छन् । आज पनि ओलीले केही निर्णय गर्ने बुझिएको छ । किनकी, ओलीले गत वर्ष नै दुई वा दुईभन्दा बढी भएमात्रै पनि निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याइसकेका छन् । सो प्रावधानअनुरुप ०७७ मंसिर ३० मा ठूलो संख्यामा संवैधानिक निकायमा नियुक्तिसमेत गरिसकेको छ ।

यता विपक्षी एमाले आइतबार (आज) नै राजीना बुझाउनेमा पुगेको छ । नेता भीम रावलले मकालु खबरसँग भने– ‘आज पनि अन्तिमप्रयास्वरुप कुराकानी गर्छौँ । भएन भने अन्तिम विकल्पका रुपमा राजीनामा बुझाउनेछौँ ।’

यदि यो समूहले राजीनामा गरेको खण्डमा २७ गतेपछि वैकल्पिक सरकार बन्ने सम्भावना बढेर जान्छ ।

यी सबै राजनीतिक दृश्यपछि कस्तो दृश्य आउँछ हेर्न बाँकी छ ।

प्रतिक्रिया