‘ओली सरकारलाई जसरी पनि हटाउनुपर्छ’

काठमाडौं । नयाँ सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रष्ट देखिएका छन् । शनिवार बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठक कक्षमा सांसदहरुमाझ ब्रिफिङ्ग गर्दै सभापति देउवाले भने– ‘संयुक्त गठबन्धनको सरकार बन्छ ।’ नयाँ सरकार गठनबारे अग्रसरता नलिएको भनि आलोचना भइरहेको बेला आएको देउवाको यो भनाइलाई महत्वका साथ हेरिएको छ ।

कांग्रेस सांसद पुष्पा भुसालकाअनुसार सभापति देउवाले वर्तमान सरकारलाई जसरी भएपनि विस्थापित गर्ने बचनबद्ध गरे । देउवालाई उद्धृत गर्दै सांसद भुसालले भनिन्– ‘केपी ओली नेतृत्वको सरकारलाई जसरी भएपनि विस्थापित गर्नुपर्छ ।’

बैठकमा मिनेन्द्र रिजाल, गगनकुमार थापालगायतका सांसदले बोलेका थिए । उनीहरुले पनि सभापति देउवाको भनाइप्रति सहमति जनाएका छन् । ‘यो विषयमा त हाम्रो पार्टीभित्र मतभिन्नता छैन,’ सांसद भुसालले भनिन्– ‘यसमा सबैको मत एकैतिर हो ।’

प्रधानमन्त्री ओलीले वैशाख २७ गते (पर्सि) सदनबाट विश्वासको मत लिँदैछन् । यसबेला सत्तारुढ एमाले अल्पमतमा छ । विपक्षी दलहरुले यसैबेला ओली हटाउने सही समय आएको ठहर गरेका छन् । यसैको प्रयासस्वरुप नेपाली कांग्रेस, माओवादी केन्द्र, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा) र विपक्षी एमाले एक कित्तामा उभिएका छन् ।

प्रतिक्रिया