मनकारी मेयर : आफू चढ्ने गाडी एम्बुलेन्स बनाए

जनकपुर । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेपछि एम्बुलेन्सको समेत अभाव खड्किँदै गएको छ । यस्तो अवस्थामा धनुषाका शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले भने आफू चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकने घोषणा गरेका छन् ।

संक्रमितहरुले अस्पतालसम्म जान एम्बुलेन्ससमेत नपाइरहेको समाचार सञ्चारमाध्यममा आएपछि मेयर बरबरियाले आफ्नो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने घोषणा गरेका हुन् ।

शनिवार विज्ञप्ति जारी गर्दै मुलुककै कान्छो मेयरका रुपमा परिचित मेयर बरबरियाले नगरपालिकाबासीलाई आपत् परेको खण्डमा आफूले चढ्दै आएको २–०२ ००१ झ ०००१ नम्बर प्लेटको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भनेका हुन् ।
मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै मेयर बरबरियाले भनेका छन्– ‘जनताकै करबाट खरिद गरिएको गाडी मैले प्रयोग गर्दै आइरहेको छु । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । यसबाट संक्रमितहरु एम्बुलेन्सको अभावमा अस्पताल पुग्न नसक्दा अकालमै ज्यान गुमाउनु परिरहेको समाचारले अत्यन्त दुःख लाग्छ ।’

भारतीय नाकाहरुसँग धनुषा जिल्लाको सिमाना जोडिएकोले जिल्लाको ग्रामीण भेगमा समेत संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेकोकाले एम्बुलेन्सको अभावमा आफ्नो गाडी प्रयोग गर्न सकिने मेयर बरबरियाको भनाइ छ । उनले एम्बुलेन्सको आवश्यक्ता पर्नेले ९८५४०२९७६९ मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

नगरपालिकासँग एक एम्बुलेन्स र एक गैह्रसरकारी गरी पहिलादेखि नै दुईवटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया