तातिँदै राजनीति– बालुवाटारमा मन्त्रिपरिषद्, बुढानीलकण्ठमा कांग्रेस संसदीय दलकाे बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार साँझ सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरेको एक मन्त्रीले मकालु खबरलाई जानकारी गराए । ‘बैठकको एजेण्डाबारे भने पूर्वजानकारी दिइएको छैन,’ ती मन्त्रीले भने– ‘त्यही होला उहाँ (प्रधानमन्त्री) ले पर्सि संसद्बाट विश्वासको मत लिँदै हुनुहन्छ । त्यसकै बारेमा कुराकानीहरु हेला, अथवा अन्य विषयवस्तुहरु पनि केही होला ।’

खासगरी मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको भएपनि प्रधानमन्त्रीले शनिवारै बैठक आह्वान गरेका हुन् । ती मन्त्रीकाअनुसार यो बैठक अपर्झट बैठक हो । ‘यो बैठकले केही निर्णायक निर्णय गर्ला ।’

यसैबीच यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेस सांसद पुष्पा भुसालकाअनुसार बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकको एजेण्डा के हो ? भन्ने प्रश्नमा सांसद भुसालले मकालु खबरसँग भनिन् – ‘त्यही समसामयिक विषयहरु हुन्, अब प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहन्छ त्यो विषय पनि हो । राष्ट्रिय सभा उपनिर्वाचन छँदैछ । यस्तै हाम्रो त पार्टीगत कुराहरु पनि छन्, बैठकमा समग्र सबैबारे छलफल हुन्छ ।’

प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत लिने भएपछि नेपाली राजनीतिक वृत्त तातिएको छ । खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुले राजनीतिक भेटघाट तथा दलगत आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

यतिबेला सत्तारुढ एमाले एक्लिएको अवस्था छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, विपक्षी एमाले, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टीलगायत एक कित्तामा उभिएपछि अल्पमतमा परेको सत्तारुढ एमाले पनि आन्तरिक छलफलमा जुटेको छ ।

यसबीचमा एमालेलाई एक ढिक्का बनाएर लाने प्रयासस्वरुप प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालबीच भेटघाट भएपनि कुनै खालको सहमति हुन सकेको छैन । यस्तै दोस्रो दुवै पक्षका दोस्रो तहका नेताहरुबीच पनि कुराकानी भइरहेको छ । तर, कुनै ठोस निष्कर्ष निस्केको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत एमालेभित्रको विवादलाई निरुपण गर्ने प्रयासस्वरुप ओली–नेपाललाई शीतल निवास नै बोलाएर कुराकानी गरेकी थिइन् । तर, त्यहाँ पनि दुवै नेताले आ–आफ्नो माग दोहोर्याएपछि सही निष्कर्ष निस्केन । सो सन्दर्भमा नेपाल पक्षीय एक नेताले मकालु खबरसँग भने– ‘उहाँहरु कोही पनि आफ्नो अडानबाट झर्नुहुन्न । यस्तो अवस्था कसरी चाहिँ सहमति हुन सक्छ ? धेरै कुराकानी भएर के गर्नु ? सहमति नभएपछि ?’

यसपछि अब वैशाख २७ (प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन) सम्म पनि एमाले एक हुने सम्भावनाको ढोका बन्द भएकोजस्तो देखिएको छ । यतिबेला ‘डबल’ एमालेसँगै सबै दलहरु दलगत आन्तरिक रणनीति बनाउनमा व्यस्त छन् ।

प्रतिक्रिया