पत्रकारिता दिवस : १६ पत्रकार सम्मानित हुने

काठमाडौं । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस-२०७८’ का अवसरमा सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ शुक्रबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान-२०७६’ अग्निशिखा, मरणोपरान्त (काठमाडौं) र हर्ष सुब्बा (सुनसरी) लाई प्रदान गरिने घोषणा गरे ।

त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौं) र शार्दूल भट्टराई (काठमाडौं) लाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि जनही दुई लाख रुपैयाँ हुनेछ । ‘राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७६’ उजिर मगर, बाग्लुङ), मात्रिका पौडेल (रामेछाप), सङ्गीता खड्का (काठमाडौं), शेषराज दाहाल (सिन्धुली), हेमकान्तबहादुर बिक (बाँके) र शीतल शाह (धनुषा) लाई प्रदान गरिने भएको छ ।

विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर), दीपेश न्यौपाने (मोरङ) दुर्गाप्रसाद शर्मा (पर्वत), शुरोजङ्ग पाण्डे (दोलखा), नितु पण्डित (नुवाकोट) र पुनम पौडेल (ललितपुर) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहनेछ । सो पुरकार उपयुक्त समयमा प्रदान गरिनेछ ।

सोही अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशील र जिम्मेवार भएर लागिपरेको जानकारी दिए । सरकारका प्रवक्ता गुरुङले भने, ‘उपचारका क्रममा कमी देखिएका औषधि, अक्सिजन, सिलिन्डरलगायत सामग्री चीन र भारतबाट ल्याउने तयारी भइरहेको छ, त्यसैगरी आइसियू बेड बढाउनेबारे काम भइरहेको छ ।’

उनले कोरोनाबारे भ्रम र आतङ्क फैलाउनेभन्दा पनि जनतामा आशा जगाउने गरी सकारात्मक सन्देश र समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सोसल मिडिया प्रयोगकर्तालाई आह्वान गरेका छन् । सञ्चारमाध्यमले कोरोनाबारे सकारात्मक सन्देश दिने खालका भन्दा पनि भ्रम सिर्जना गर्ने गरी क्षणिक बिक्री हुने समाचार सामग्री सम्प्रेषण गरेको उनको भनाइ थियो ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकारिता क्षेत्रलाई संस्थागत गर्दै जीवन्त पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताउँदै कोरोनाका समयमा मिडियाले सकारात्मक सन्देश सम्प्रेषण गर्ने अपेक्षा गरे ।

मन्त्रालयले‚ ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ‚ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ । मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गरेको छ ।

नेपालमा गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ ।

विसं १९५८ देखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन शुरु भएको थियो ।

गोरखापत्रको १२१ औँ वार्षिकोत्सव तथा छौौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । हरेक वर्ष विविध कार्यक्रमका साथ दिवस मनाइँदै आए पनि यस वर्ष कोरोना भाइरसका कारण मनाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया