खोप प्रकरणबारे सरकारलाई विवेकशील साझाका चार प्रश्न

काठमाडौं । विवेकशील साझा पार्टीले कोभिडको खोप प्रकरणमा सरकारले आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा दोष थोपरेर चोखिने प्रयत्न गरिरहेको आरोप लगाएको छ ।
खोप प्रकरणबारे अहिलेसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा गर्दा यस्तो निष्कर्षमा पुगेको विवेकशील साझा पार्टीले जनाएको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा खोप प्रकरणबारे सरकारसँग चारवटा प्रश्न गरिएको छ ।
विवेकशील साझा पार्टीले महामारीजस्तो राष्ट्रिय/विश्वव्यापी सङ्कटका बेला केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको भए उनीहरुमाथि कारबाही नगरिनुको ती व्यापारीमाथि कारबाही नगर्नुको कारण माग गरेको छ । यस्तै, केही ब्यापारीको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन नमिल्ने भन्दै विज्ञप्तिमा सोधिएको छ, ‘फेरि त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?’
‘भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गरेको थियो ?’ विवेकशील साझाको अर्को प्रश्न छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेको तर सरकारले भनेजस्तो भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त नहुने भन्दै विवेकशिल साझाले बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म गरेका कामबारे पनि प्रश्न उठाउँदै यी चारवटा प्रश्नको चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष दिन माग गरेको छ ।
विवेकशील साझाले यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध भएकाले खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही गर्न पनि माग गरेको छ । यस्तै सबै नेपालीलाई पुग्नेगरि खोप तत्काल आयात गर्न पनि विवेकशिल साझाले सरकारसँग माग गरेको छ ।








