प्रदेश १ : होल्डिङ सेन्टर संचालनमा सरकारद्वारा बजेट, जिल्ला अस्पताललाई २० लाखसम्म

विराटनगर । निर्णय भएर पनि रोकिएको होल्डिङ एरिया संचालनको काम अब शुरु हुने भएको छ । प्रदेश सरकारको कोरोना जन सुरक्षा कोषबाट रकम उपलब्ध गराइएपछि अब होल्डिङ एरिया संचालनमा आउने भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाको लागि स्थायी प्रकृतिको हेल्प डेस्क तथा स्कृनिङ् प्वाइन्ट तयार गर्नका लागि २३ लाख र संचालनको लागि १५ दिनको रनिङ खर्च १२ लाख २ हजार ५ सय र १ हजार जनाको क्षमताको १५ दिनको लागि होल्डिङ सेन्टर बनाउन ५७ लाख २५ हजार रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै सुनसरीमा जिल्लामा होल्डिङ सेन्टर सुचारु गर्नका लागि १ महिनामा एक हजार जनाको व्यवस्थापन खर्च १५ लाख उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । त्यस्तै ईलामलाई पनि एम्बुलेन्स, शव-वहान चालकको भत्ता, शव व्यवस्थापन खर्च, पशुपतिनगर सीमा क्षेत्रमा क्वारेन्टाइन, होल्डिङ्ग एरिया संचालन तथा आकस्मिक सेवा संचालनका लागि १५ लाख दिने भएको हो ।

मोरङलाई होल्डिङ सेन्टर संचालन तथा व्यवस्थापन खर्च १ महिनामा ५० जना बिरामीका लागि २० लाख प्रदेश सरकारले उपलब्ध गराएको छ । त्यस्तै ओखलढुंगाको हर्कपुरमा होल्डिङसेन्टर संचालन तथा व्यवस्थापनका लागि १५ लाख कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराउने निर्णय भएको मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङ्गलाई ५ लाखका दरले होल्डिङ्ग सेन्टर संचालन तथा व्यवस्थापन खर्चको नाममा ५० लाख पठाउने निर्णय भएको छ ।

जिल्ला अस्पताललाई १ करोड १५ लाख
कोरोना जनसुरक्षा कोष कोष संचालक समितिको बैठकले आइसोलेसन स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड १५ लाख दिने निर्णय गरेको हो । जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, ओखलढुंगा र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई १० लाखका दरले उपलब्ध गराउने र जिल्ला अस्पताल ताप्लेजुङ्लाई १५ लाख आइसोलेसन स्थापना संचालन तथा उपचार सेवाका लागि १ करोड १५ लाख उपलब्ध गराउने निर्णय भएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगर कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रलगायतका अस्पतालका लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पीपीई सेट‚ एन्टिजेन किट, आकस्मिक औषधिलगायतका कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामग्री खरिदका लागि ५० लाख दिने भएको छ ।

मेची अस्पताल कोभिड उपचार केन्द्र संचालन तथा व्यवस्थापनका लागि २५ लाख, जिल्ला अस्पताल सुनसरीलाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापनका लागि २० लाख उपलब्ध गराएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार जिल्ला अस्पताल धनकुटाको कोभिड-१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन र ल्याबसम्बन्धी खर्चका लागि २० लाख दिइएको छ । उदयपुर कोभिड–१९ अस्पताल आइसोलेसन सेन्टर, बेल्टार कोभिड-१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापनका लागि पनि २० लाख दिइएको सुवेदीले बताए ।

प्रतिक्रिया