नेपालमा ६५० पत्रकारमा कोरोना

काठमाडौं । नेपालमा ६ सय ५० जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै ६ सय ५० जना पत्रकारमा कोरोना संक्रमण देखिएको जनाएको छ ।
संक्रमितमध्ये २५२ जना अहिले सक्रिय संक्रमित रहेको समेत महासंघले जनाएको छ । प्रदेश १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा ३०, सुदूरपश्चिममा ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ जनामा कोरोना संक्रमण देखिएको महासंघले बताएको छ ।
संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको र ४ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
महासंघका अनुसार हालसम्म ७ जना पत्रकारको कोरोना संक्रमणबाट निधन भएको छ ।
अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरू संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको महासंघले जनाएको छ ।
यसका साथै पीसीआरलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।








