प्रेमध्वजसँगै अस्तायो स्वर्णिम स्वरको युग…

काठमाडौं । कोरोना कहरले तनाव दिइरहेका बेला बिहीबार अर्को दुखद् खबर थपिएको छ । बिहीबार नेपाली सांगीतिक क्षेत्रका एक अमूल्य मोती प्रेमध्वज प्रधानको निधन भएको छ । यससँगै नेपाली सांगीतिक जगत्मा ‘गोल्डेन भ्वाइस’ अर्थात् ‘स्वर्णीम स्वर’ युगको पनि अन्त्य भएको छ ।

विसं १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मेका थिए प्रधान । सानैदेखि गीतसंगीतमा रमाउन औधी मन पराउने प्रधानले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए । प्रधानले २०२२/२३ सालमा प्रख्यात भारतीय गायिका उषा मंगेश्करसँग चलचित्र ‘माइतीघर’मा गीत गाउने मौका पाएका थिए । उनले आशा भोस्लेसँग पनि ‘मायालु इन बम्बे’ नामक चलचित्रमा स्वर दिएका थिए ।

प्रधानले यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटुँलगायतका दर्जनौं गीत सिर्जना गरे ।

२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा ‘क’ श्रेणीमा पास गरेपछि प्रधानको औपचारिक संगीत यात्रा शुरु भएको थियो । प्रधानले गायक र संगीतकारका रुपमा करिब करिब ७०० गीत रेकर्ड गराएका छन् ।

प्रेमध्वज प्रधानको परिचय नेपाली सांगितिक जगतमा पहिलो गितारवादकका रुपमा पनि छ । भनिन्छ, नेपालमा पहिलोपटक गितार बजाउँदै गीत गाउने नेपाली गायक प्रधान नै हुन् ।

प्रधानको अनुपस्थितिले नेपाली सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । प्रधानको अस्ताएसँगै संगीतको ‘स्वर्णीम स्वर’ को युग पनि अस्ताएको छ । उनी यो चराचर जगतलाई छोडेर कतै हराएका छन्, कतै बिलाएका छन् । उनको नश्वर शरीर हामीबिच नभएपनि उनको स्वर्णीम स्वरमा सजिएका गीतहरु भने युग युगसम्म नेपाली सांगितीक आकाशमा टहटह जुन बनेर रहिरहनेछन् ।

गायक तथा संगितकार प्रेमध्वज प्रधानप्रति शब्द श्रद्धाञ्जली ।

प्रतिक्रिया