रहेनन् गायक प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्यूरो एण्ड जनरल अस्पताल भर्ना भएका प्रधानको बिहीबार निधन भएको हो । गीतकार भूपेन्द्र खड्काले पुष्टि गरेअनुसार प्रधानको मृत्यु भएको हो ।

यता संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले पनि प्रधानको मृत्यु भएको पुष्टि गरेका छन् भने गायक प्रमोद खरेलले पनि प्रधानको मृत्यु भएको बताएका छन् ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ भेटुँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फूलहरु’जस्ता जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

प्रधानले भारतीय गायक तथा गायिकाहरुसँग पनि थुप्रै गीतहरु गाएका छन् । उनले आफ्नो जीवनकालमा करिब ७०० वटा गीतहरु गाएका प्रधानले उत्तिकै मात्राको गीतमा संगीतसमेत भरेका छन् ।

प्रतिक्रिया