प्रदेश १ : कोभिड नियन्त्रणमा योजनाविहीन स्थानीय तह

विराटनगर । प्रदेश १ का तीन ठुला स्थानीय तह पनि कोभिडको महामारी फैलिँदै जाँदा अन्यौलमा देखिएका छन् । कोभिडको हटस्पट प्रदेश १ को राजधानी विराटनगरसहित धरान र ईटहरीले कोभिडको तयारी आफ्नो क्षमताअनुसार गर्दै आएका छन् ।

प्रदेशलाई नै नेतृत्व गर्ने विराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाले कोभिडको संक्रमण रोकथाम, उपचार, आइसोलेसन, सचेतना र अक्सिजन व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

महानगरमा एक्सन टीम
विराटनगर महानगपालिकाले महानगरपालिकाभित्र ३ ठाउँमा पिसिरआर टेष्टको व्यवस्थापन गरेको छ । संक्रमित बढ्दै जाँदा प्राथमिक स्वास्थ्य चौकीमा १९ बेडको आइसोलेसन केन्द्र बनाइएको छ । कन्ट्याक्ट ट्रेसिङलाई कडाइ गरिएको महानगरपालिकाले जनाएको छ ।

१९ वटै वडामा फिबर क्लिनिक संचालनमा रहेको उपप्रमुख ईन्दिरा कार्कीले जानकारी दिइन् । विराटनगर महानगरपालिकाले संचालनमा ल्याएको दुईवटा एम्बुलेन्समध्ये एउटामा कोभिड संक्रमितमात्र बोक्ने गरिएको छ भने अर्को एम्बुलेन्स सुत्केरी महिलाको उद्धारमा प्रयोग गर्ने गरिएको छ । नोबेल, विराट र कोशी कोभिडसँग विराटनगर महानगरपालिकाले संक्रमितको उपचार र व्यवस्थापनमा समन्वय गर्दै काम गरिरहेको छ ।

अक्सिजनको माग र त्यसको व्यवस्थापनका लागि तीनजना प्रविधिक स्वास्थ्यकर्मीसहितको टीम बनाएर व्यवस्थापनको काम शुरु भएको कार्कीले मकालु खबरलाई जानकारी दिइन् ।

‘अहिलेको परिस्थितिलाई सूचना प्रवाह गरेर सचेतना जगाउने काम भएको छ,’ उनले भनिन्, ‘वडा अध्यक्षको नेतृत्वमा सबै वडामा कार्यदल बनाइएको छ । एक्सन टीममा स्वास्थ्यकर्मी, टोल समिति, नागरिक अगुवासहित स्वाथ्य स्वयं सेविकालाई राखिएको छ।’

उक्त कार्यदलमा वडामा नयाँ मान्छेको प्रवेश, संक्रमणदर, अवस्था र भीड व्यवस्थापनमा समन्वयकारी भूमिका खेलेको छ । लकडाउनका लागि आग्रह गर्ने विराटनगर महानगरपालिकाभित्रै भने भीड व्यवस्थापनमा समस्या देखिएको छ ।

महानगरपालिकाभित्र अहिले पनि विभिन्न नाममा भीड जम्मा हुने गरेकाले त्यसलाई कडाइ गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको उपप्रमुख कार्कीले बताइन् । विराटनगरमा अक्सिजन अभाव हुनसक्ने सम्भावनालाई ध्यान दिएर अहिले भएको २० सिलिन्डरलाई बढाउने तयारी गरिएको छ । महानगरपालिकाले एक सय अक्सिजन सिलिन्डर खरिदको तयारीमा रहेको छ ।

कतै राम्रै तयारी‚ कतै अरुको भर
प्रदेश १ मा रहेको दुई उपमहानगरपालिकाहरूमध्ये इटहरी र धरानले पनि कोभिड रोकथाम र नियन्त्रणका लागि कामलाई तीव्रता दिएको बताएका छन् । इटहरीमा ५० शय्याको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिनभित्र तयार भइसक्ने तयारी छ ।

खानपानको व्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन संचालनमा ल्याइने उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले बताए । ईटहरीमा अहिले अक्सिजनको समस्या छैन । ईटहरीमा कुनैपनि अक्सिजनको समस्या नहुने उपमहानगरपालिकाले जनाएको छ । यहाँ रहेको दुई अक्सिजन उद्योगको अनुगमनपछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने बताएकी हुन् ।

No description available.

कोभिड संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले इटहरीका निजी अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच बेड छुट्याउने विषयमा छलफल थालेको छ । इटहरीमा सामुदायिक, मेदान्त, एपेक्स र पशुपति मोडल अस्पताल संचालनमा छ ।

नमूना काम हुन्छ
अन्य पालिकाले आफ्नै पालिकाका संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौलमा रहेका बेला धरानलाई भने यो चिन्ता देखिएको छैन । धरानमा नै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कारणले समस्या नहुने दाबी मेयर तिलक राईको छ ।

धरानलाई सजिलो भनेको नजिकै रहेको सुविधासम्पन्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले उसैसँगको सहकार्यमा कोभिड नियन्त्रण र उपचारको काम भइरहेको छ । ‘उपमहानगरपालिका विशेषगरी सचेतनाको काममा सक्रिय छ, धरान उपमहानगरपवालिकाका मेयर राईले भने, ‘अन्य प्राविधिक समस्या र उपचारका कुराहरू सबै बीपीसँगको समन्वयमा गरेका छौँ ।’

धरानमा अक्सिजनको समस्या नभएको मेयर राईले दाबीसमेत गरे । बीपीको आफ्नै अक्सिजन प्लान्ट रहेको र त्यही प्लान्टबाट पाइपलाइनमार्फत् बिरामीसम्म पुर्‍याउने गरिएकाले समस्या नहुने उनले बताए । पाइपलाइनबाट पुर्‍याउन नसक्दा ब्याकअपको रुपमा सिलिन्डर पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ । मेयर राईले न्युनतम साधन र स्रोतका बिचमा पनि नमूना काम धरानले गरेर देखाउने बताए ।

करिब २५० को हाराहारीमा संक्रमित रहेको यस पालिकामा अप्ठेरो अवस्था बाहेकका धेरैजना होम आइसोलेनमा नै रहेका छन् । गत वर्षको तुलनामा यो वर्ष स्वास्थ्यकर्मी पनि अनुभवी भएकाले उनीहरुमा कन्फिडेन्ट बढेको उनले सुनाए । अहिलेको निषेधाज्ञाको अवस्थामा कसैलाई बाहिर हिँड्न दिइएको छैन ।

लकडाउनलाई कडाइ गरिएकाले पनि अब संक्रमण धेरै फैलिँदैन की भन्ने आशा धरानमा देखिन्छ । धरानमा हरियाली सामुदायिक वनमा ५० बेडको आइसोलेसन सेन्टर तयारी अवस्थामा छ । अहिले धेरै संक्रमित व्यक्ति घरमै रहेका छन् । भोलि आवश्यक परेमा आइसोलेसनमा लैजाने तयारी धरान उपमहानगरको छ । धरानले आफैँले गरेको काम सचेतना र प्रचार प्रसार हो ।

प्रतिक्रिया