नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरिको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो ।

उक्त केन्द्रको बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संयुक्तरूपमा शुरुवात गरेका हुन् ।

नगरपालिकाद्वारा स्थापना गरिएको उक्त केन्द्रमा सोही नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक तथा कर्मचारीको स्वास्थ्य जाँच गरिने नगरप्रमुख गिरीले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह, नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरी-२ का वडाध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति थियो ।

हालसम्म चन्द्रागिरिमा दुई हजार ३७९ जनालाई कोरोना संक्रमण देखिएको नगरपालिकाका प्रवक्ता महर्जनले जानकारी दिए ।

तीमध्ये दुई हजार १८१ निको भएर घर फर्किसकेका छन् भने १५८ होम आइसोलेशन र १४ जना अस्पतालमा उपचारत छन् ।

हालसम्म चन्द्रागिरीमा कोरोनाका कारण २६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया