प्रचण्डले भेटे नेपाल र यादवलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछ्ुट्टै भेट गरेका छन् । प्रचण्ड निकट स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले अध्यक्ष यादवलाई हात्तीवनस्थित एक घरमा भेट गरेका हुन् । प्रचण्ड–यादवबीच के कुराकानी भयो भन्नेबारे भन्ने प्रश्नमा प्रचण्ड निकट स्रोतले मकालु खबरसँग भन्यो– ‘अरु केही होइन,’ स्रोतले भन्यो– ‘वर्तमान राजनीतिक परिदृश्यबारे नै छलफल भएको हो ।’

नेता नेपालसँगको भेटबारे भने प्रचण्ड निकट स्रोतले केही बोलेन । ‘दुई नेताहरुबीच भेट हुने भन्ने कुरा चाहिँ थियो,’ स्रोतले मकालु खबरसँग भनेको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता आजै लिइसकेको छ । यसअघि नै सरकारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले आफ्नो समर्थन फिर्ता लिएको हो ।

संघीय संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाएर हात्तीवन पुगेका प्रचण्ड र अन्य दुई नेताबीच विश्वासको मतलाई कसरी असफल बनाउने, अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने, राष्ट्रिय सभाको उपनिर्वाचनमा सहकार्यलगायतका विषयमा छलफल भएको बुझिाएको छ ।

प्रतिक्रिया