सरकारको समर्थन फिर्ताको पत्र बुझाउँदै माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि बुधवार पत्र बुझाउँदै छ । माओवादी नेता लीलामणि पोखरेलले मकालु खबरलाई दिएको जानकारीअनुसार माओवादीले समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा आजै बुझाउन लागेको हो । ‘आजै समर्थन फिर्ता लिँदैछौँ,’ नेता पोखरेलले भने– ‘पत्र लिएर साथीहरु संसद् सचिवलय पुग्दै हुनुहुन्छ ।’

यसअघि मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै सरकारबाट बाहिरिएको माओवादीले आफूले गरेको समर्थन भने फिर्ता लिएको थिएन । त्यसपछि नयाँ सरकार गठनको कसरत पनि गर्ने तर, समर्थन फिर्ता नलिने भन्दै माओवादीको आलोचना हुँदै आएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । ओलीले आगामी वैशाख २७ गते सदनबाट विश्वासको मत लिने निर्णय गरेका छन् ।

प्रतिक्रिया