पत्रकार महासंघको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको अवस्था समेटिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

पत्रकार महासंघले भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै मानिसको जीवनमा सूचनाले महत्त्वपूर्ण भूमिका खेल्ने चर्चा गरेका थिए ।

उनले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानवअधिकार आयोग प्रतिबद्ध रहेको भन्दै यस विषयमा महासंघसँग सदैव सहकार्य गर्दै अघि बढ्ने बताए ।

उनले आयोगका तर्फबाट प्रेस स्वतन्त्रताको विषयमा नेपाल सरकारलाई निरन्तर सचेत गराउने र निर्देशन दिने काम गरिरहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि निर्वाचन आयोजका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा महासंघले खेलेको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले सञ्चारमाध्यम स्वतन्त्र भएन भने निर्वाचनमा निपष्क्षता र सुरक्षा कायम हुन नसक्ने भन्दै पत्रकारिताले निगरानी, पहरेदारी र खबरदारी गर्नुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कानुनी, भौतिक र पेशागत असुरक्षाजस्ता चुनौती कायम रहेको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले जस्तोजुकै कदम चाल्ने प्रतिक्रिया पनि जनाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रेस स्वतन्त्रताको जगेर्नासँगै व्यवसायिक पत्रकारिता र पत्रकारको चौतर्फी विकासमा केन्द्रित हुने बेला आएको बताए ।

महासंघका महासचिव रोशन पुरीले नेपाल पत्रकार महासंघले तयार पारेका प्रेस स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनका विषयवस्तुलाई संक्षिप्तमा राखेका थिए ।

त्यसैगरी महासंघका पूर्वसभापतिहरु डा. सुरेश आचार्य, तारनाथ दाहाल, धर्मेन्द्र झा, अध्यक्षहरु शिव गाउँले, डा. महेन्द्र विष्ट, महासंघका सल्लाहकार निर्मला शर्माले शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सामुहिक अभियानको खाँचो भएको धारणा राखेका थिए ।

प्रतिक्रिया