लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नेछन् । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्तासमीकरण पनि फेरिने भएको छ ।

आजै दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेलले अश्विास प्रस्तावमा हस्ताक्षर गर्नेसहित जसपाका चार जना सांसदलाई त्यही साँझ मन्त्री नियुक्त गरेका थिए । तर जसपाले उनीहरूलाई कारबाही गरेको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्रीलाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्थ्यो तर, एमालेभित्र फ्लोर क्रस त्रास कायम थियो ।

प्रतिक्रिया