लुम्बिनीको विशेष अधिवेशन आज, यस्तो छ समीकरण

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदैछ । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक दिउँसो १ बजे बस्दैछ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुनेछ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन् । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान हुने कार्यसूची तय गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेलले अश्विास प्रस्तावमा हस्ताक्षर गर्नेसहित जसपाका चार जना सांसदलाई त्यही साँझ मन्त्री नियुक्त गरेका थिए । तर जसपाले उनीहरूलाई कारबाही गरेको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्रीलाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १८, कारबाही पछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रदेशसभाको अंकगणितको हेर्ने हो भने– सत्ता परिवर्तनको एकमात्रै विकल्प फ्लोर क्रस हो । एमालेभित्र फ्लोर क्रस नभए वर्तमान सरकारले निरन्तरता पाउने छ । यदि, कर्णाली प्रदेशमा जस्तै एमाले सांसदले फ्लोर क्रस गरे मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया