होम आइसोलेसनमा बस्दा के गर्ने ? डा. रवीन्द्र पाण्डेले सुझाएका १६ उपाय

काठमाडौं । काेभिड–१९  महामारीकाे दोस्रो लहर बढिरहेकाे छ । संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञाबाहेक अर्काे विकल्प पहिल्याउन सकिरहेकाे छैन । संक्रमितसँगै मृतककाे संख्यासमेत बढ्दै गएकाे छ ।

यसले गर्दा अस्पतलामा  बेड र शय्या नपाएको अवस्था छ । आइसोलेसनमा बस्दा के गर्ने के नगर्ने भन्ने बारेमा जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले संक्रमितलाई सुझाएका यस्ता छन्  १६ उपाय : 

१. थर्ममिटरबाट तापक्रम नापिरहनु होला । ९८ देखि ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो  १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला,  यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३.  भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आवश्यकताअनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।

४.  अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो चिकित्सककहाँ गइहाल्नु हाेला ।  यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ, तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि( एन्टिभाइरल र एन्टिबायोटिक) खानुपर्ने हुन्छ, कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन,  चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ,  अक्सिजन उपचार हैन धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ, तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाईं कुनै कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला ।   प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला, यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिँदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला, नआत्तिनुहोला ।

१५. दिनमा १/२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल सकभर नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला । उपचारको लागि कोभिड हटलाइन ११३३, ९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया