उपभोग्य वस्तु पर्याप्त, कालोबजारी गरे तत्काल कारवाही गरिने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको अभाव नरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । साथै त्यस्ता बस्तुको मौज्दात पर्याप्त रहेको मन्त्रालयको दाबी छ ।

दैनिक उपभोग्य खाद्यान्न, नुन, तेल, चिनी, खाना पकाउने एलपी ग्यास, डिजेल, पेट्रोल र मट्टीतेल, मास्क, सेनिटाइजर जस्ता वस्तुको आपूर्ति व्यवस्था सहज रहेको मन्त्रालयले गठन गरेको ‘उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम’ अन्तर्गत आपूर्ति व्यवस्थापन हेर्ने सहसचिव प्रेमकुमार श्रेष्ठ बताए ।

‘दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सहज छ भने मौज्दात पनि पर्याप्त छ,’ उनले भने ।
उनका अनुसार हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल २९ हजार ७ सय २२ मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै, खाद्यसँगै दुर्गम जिल्लामा २ हजार ९ सय ५३ मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै, गहुँ ४ हजार ३ सय ८८ क्विन्टल मौज्दात रहेको छ ।

खाद्य संस्थालनले हाल काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सुर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको जनाएको छ ।

खाद्यले महामारीमा उपभोक्तालाई सहज बनाउन बास्मती र जम्लाको मार्सीलगायत चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु, सेनिटाइजर बिक्री गरिरहेको छ जनाएको छ । महामारीमा सहज आपूर्तिका लागि कम्पनीले नेपाल फुड डट जिओभी डट एनपी र सस्तो डिल डट कम जस्ता वेवसाइटबाट अर्डर लिएर निःशुल्क होम डेलिभरीको व्यवस्था समेत गरेको जनाएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोसेशन लिमिटेडले ११ महिनालाई पुग्ने नुन मौज्दात रहेको जाएको छ । चिनी पनि पर्याप्त रहेको जनाएको छ । कम्पनीले महामारीमा उपभोक्ताले टोलमै बसेर नुन र चिनी किन्न सक्ने गरी डेलिभरी भ्यानमा राखेर माइकिङ गर्दै बिक्री गरिरहेको जनाएको छ ।

नेपाल आयल निगमसँग हाल खाना पकाउने एलपी ग्यास ४६ हजार ३ सय ३२ मेट्रिक टन मौज्दात छ । त्यस्तै, डिजेल, पेट्रोल र मट्टीतेल गरी ४८ हजार २ सय ४५ किलोलिटर मौज्दात छ ।

‘ग्यास र डिजेल, पेट्रोल नियमित आइरहेकोले आपूर्तिमा समस्या हुँदैन,’ उनले भने, ‘भारत लगायत तेस्रो देशबाट हुने आयात र देशभित्रको आन्तरिक वितरण पनि नरोकिएकोले यी वस्तुको आपूर्तिमा असहजता आउँदैन ।’

निजी क्षेत्रसँग मौज्दात रहेको खाद्यान्न र दैनिक उपभोग्य वस्तुको तथ्यांकसमेत संकलन गरिरहेको सहसचिव श्रेष्ठले बताए । खाद्यान्न बिक्री गर्नेहरुले पनि मूल्य सूची राखेर बिक्री गर्नुपर्ने व्यवस्था गरिएको र दैनिक उपभोग्य वस्तुको अभाव भएको गुनासो कतैबाट नआएको उनलेब ताए ।

‘कसैले कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा समानको अभाव भएको सूचना कहीँ कुनै उपभोक्ता वा सरोकारबाट निकायबाट आए हामी तत्काल एक्सनमा उत्रिने छौं,’ उनले भने, ‘अहिले अभावको अवस्था छैन ।’
अत्यावश्यक वस्तु तथा सेवालाई सहज बनाउन गृह र कृषि मन्त्रालयका प्रतिनिधि सहसचिवहरु राखेर पटक पटक छलफल गरेर समन्वय भइरहेको समेत उनले बताए ।

अत्यावश्यक वस्तु ढुवानी गर्ने सधानलाई पास नचाहिने

अति आवश्यक वस्तु तथा सेवाको ढुवानी गर्ने साधनले स्पष्ट देखिने र बुझिने गरी व्यानर राखेर चलाउँदा पास नचाहिने व्यवस्था गरिएको सहसचिव श्रेष्ठले बताए । ‘व्यानर राखेर चलाउँदा चेकजाँचमा रहेका प्रहरीलाई पनि सहज बनाउने छ,’ उनले भने ।

विभाग भन्छ– निरन्तर अनुगमनमा छौं

मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आपूर्तिको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको विभागका प्रवक्ता शिवराज सेढाईले बताए ।

‘कसैले कृत्रिम अभाव सिर्जना गरेको, सामान लुकाएको, मूल्य बढाएको पाइयो भने वा त्यस्तो गरेको कहीँबाट उजुरी आए हामी तत्काल दोषीलाई कारवाही गर्छौं,’ सेढाईले भने, ‘ अप्ठ्यारो परेको बला बढाए वा बढाउँछन् भन्ने एउटा सतही विश्लेषण पनि छ । तर, मौका छोप्न पल्केकाहरुले असज परिस्थितिमा बदमासी नगर्ने पनि होइनन् । यसबारे हामी निरन्तर चनाखो भएर अनुगमन गरिरहेका छौं ।’

बजारमा मास्क र सेनिटाइजर समेत पर्याप्त उपलब्ध रहेको उनले बताए ।

‘मास्क र सेनिटाइजर बजारमा पर्याप्त उपलब्ध छ,’ उनले भने, ‘आज बिहान मात्रै मास्कमा गोलमाल गरेको पाएपछि हामीले केही पसलेलाई कारवाही पनि गरेका छौं । मास्क बनाउन प्रयोग हुने कच्चा पदार्थ चाहीँ आयात हुने भएको हो कि भनेर हामी अध्ययन गरिरहेका छौं ।’

मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नापतौल विभागले पनि साविकमा भन्दा अनुगमन बढाएको उनले बताए ।

र, याे पनि– लकडाउन भएपनि ग्यास र पेट्रोलियमको अभाव नहुने

प्रतिक्रिया