प्रदेश १ मा तत्काल राजधानी केन्द्रित लकडाउन हुनसक्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । कोशी कोभिड अस्पतालसँगै निर्माण भएको नागरिक केयर सेन्टरको संचालनका लागि गरिएको निरीक्षणका क्रममा उनले कोभिड संक्रमितको संख्या बढ्दै गएको अवस्थामा निषेधाज्ञाको संभावना रहेको बताएका हुन् ।
सुनसरी जिल्लाले पनि निषेधाज्ञा जारी गरेको अवस्थामा विराटनगर महानगरपालिका हटस्पटको रुपमा रहेकाले विराटनगर महानगरपालिका केन्द्रित गरेर निषेधाज्ञाको तयारी भइरहेको मुख्यमन्त्री राईले बताए । ‘कोभिडका कारण अवस्था भयावह हुने संभावनालाई ख्याल गरेर सावधानी अपनाउने कुरालाई ख्याल राखेर अघि बढेका छौँ,’ उनले भने, ‘विराटनगरमा संक्रमण बढी देखिएकाले तत्काल लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ ।’ पहिलो चरणमा गर्नुपर्ने कामहरू सचेतनादेखि छलफल गर्ने कामलाई तीव्रता दिइएको समेत मुख्यमन्त्री राईले जानकारी दिए । पहिलो चरणको कोभिडमा गरिएको अभ्यासलाई मध्यनजर गर्दै आउनसक्ने समस्यालाई समाधान गर्दै जाने उनले दाबी गरे ।
उनले तत्काल एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न पिसिसिएमसीको बैठकले निर्णय गरिसकेकाले ५ देखि ७ ठाउँमा होल्डिङ सेन्टर निर्माण हुने मुख्यमन्त्री राईले बताए । राईका अनुसार विराटनगर, काँकडभिट्टा, पशुपतिनगर, गौरीगञ्ज, भान्टाबारी, हर्कपुरलगायतका ठाउँमा होल्डिङ सेन्टर बनाउने निर्णय भएकाले यो कार्यान्वायनमा जान केही दिन लाग्नेछ ।
मुख्यमन्त्री राईले दोश्रो चरणको कोभिडले यस्तो चाँडो गति लिन्छ भन्ने सोच्दै नसोचेको अवस्थामा संक्रमितको संख्या बढ्दै जान थालेपछि तत्काल प्रदेश सरकारले काम गर्न नसकेको स्वीकार गरे ।
कोभिडको गति बढ्दै जाँदा प्रदेश सरकारले पनि गति लिएरै अघि बढेको उनले बताए । ‘हामी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले लापरवाही पूर्ण काम गरेका छैनौं,’ मुख्यमन्त्री राईले भने, ‘पहिलो चरणमा गरिएको जस्तै सावधानीका साथ अघि बढ्ने छ, पिसिसिएमसीको दुईवटा बैठक बसेर धेरै निर्णयहरू गरिसकेका छौं ।’
कोशी कोभिड अस्पतालको क्षमता विस्तार
विराटनगरमा शुरु भएको कोशी कोभिड अस्पतालको क्षमता विस्तार भएको छ । कोशी कोभिड अस्पतालसँगै रहेको नेशनल ट्रेडिङको गोदाममा संरचना निर्माण गरी प्रदेश सरकार र नागरिक समाजको समन्वयमा संरचना निर्माण गरिएको थियो । केयर सेन्टरमा ८३ वटा अक्सिजन बेड र २८ वटा भेन्टिलेटर छन् ।

नेसनल ट्रेडिङको दुई तले भवनमा ८० बेडको रहेपनि अक्सिजनसहितका ३२ बेडमात्रै सञ्चालनमा थियो । थपिएको सेवासँगै अक्सिजनसहितको बेड १३२ पुगेको छ । त्यस्तै भेन्टिलेटर २८ र नर्मल बेड ४८ सहित कोशी कोभिड-१९ उपचार केन्द्रमा अब २०८ बेड बनाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सेवा विस्तारसँगै सुविधा सम्पन्न अस्पतालमा कुनै खालको समस्या नहुने सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।








