निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।

अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपनि निरन्तरता दिँदा पछि अहिले रोकिएको समेत गरी थप सुन व्यवसायी हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सीमित व्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक व्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने उनको भनाइ छ ।

महासंघका प्रवक्ता मनोज कुमार साहले कारोबार सुचारु रहेका जिल्लाका लागि स्थानीयस्तरमा नै सुनको विक्री वितरणको  व्यवस्था मिलाउन बैंकर्स एसोसिएसनसँग आग्रह गरिएको बताए । यसबारे व्यवसायी र बैंकर्स एसोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनले बताए । कारोबार सुचारु रहेका स्थानमा विशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले व्यवासयीलाई आग्रह गरे ।

विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५ सय किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन काँ गयो भन्ने तथ्याङ महासंघसँग छैन ।

फेरी पनि त्यसरी सुन गायव नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको जनाएको छ । सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफरिस बिना नै बिक्री गर्न पाइन्छ । यसरी बिक्री गरिँदा त्यस्तो सुन सीमित व्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया