सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध ठाकुर आयोगमा

काठमाडौं । लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार अध्यक्ष ठाकुर शुक्रबार आयोग पुगेका हुन् । ‘उहाँ आउनुभएको थियो’, प्रवक्ता श्रेष्ठले भने– ‘पत्र दर्ता भएको छ ।’

दर्ता भएको पत्रमार्फत ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नभएको उल्लेख गरेका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेश सभा सचिवालयले जसपाले ४ सांसद सन्तोष पाण्डेय, कल्पना पाण्डेय, विजयकुमार यादवलगायतलाई पदमुक्त गरेको भन्दै अध्यक्ष ठाकुर आयोग पुगेका हुन् । ‘सो अवैध एवं गैरकानूनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ,’ ठाकुरले आयोगमा बुझाएको पत्रमा भनिएको छ ।

जसपाको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ४ जना सांसदलाई बिहीबार कारबाही गरेको हो । तर अर्का अध्यक्ष ठाकुरले भने कारबाही ‘भएको छैन’ भन्दै प्रदेश सभाका सभामुखलाई पत्र पठाएका छन् ।

यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारबाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानूनी उपचारमा जाने तयारी गरिरहेका छन् । स्रोतकाअनुसार समय रहेमा आजै नै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ ।

प्रतिक्रिया