निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे के सजायँ हुन्छ ?

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । पहिलो दिन निषेधाज्ञामा उल्लंघन धेरै भएकाले आजदेखि थप कडाइ हुने भएको हो ।

कोभिड-१९ संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले अझै कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् ।

विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको थियो भने भित्रि सडक छेउका पसल खुलेका थिए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही ‘लुज’ गरिएकै हो । तर, आजबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ,’ एसएसपी सिंहले भने, ‘सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ ।’

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ भने सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्केका र निषेधाज्ञा उल्लंघन गर्ने चार सय ८१ जनलाई बिहीबार नै पक्राउ गरिएको थियो । उनीहरूलाई दुई घन्टा होल्ड’ गरी राखेपछि मात्रै सम्झाइबुझाई छाडिएको थियो ।

उल्लंघन गरे के सजाय हुन्छ ?
निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ । यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५०० रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया