मेची अस्पतालमा डायलासिस गर्दा चरम लापरबाही भएको गुनासो

काठमाडौं । मेची अस्पताल भद्रपुरमा मिर्गौलाको डायलासिसमा लापरबाही भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
अस्पतालको डायलिसिस सेवालाई निजी कम्पनीलाई जिम्मा दिएदेखि उपचारमा चरम लापरबाही हुँदा बिरामीलाई झनै जोखिम बढेको बिरामी र उनीहरुका आफन्तले गुनासो गरेका छन् ।

मकालु खबरले सम्पर्क गरेका पाँचजना सेवाग्राही र उनीहरुका आफन्तले पहिले राम्रो सेवा दिइरहेको अस्पतालमा डायलासिसको सुविधा निजी कम्पनीलाई जिम्मा दिएपछि लापरबाही बढेको र यसले गर्दा बिरामीको ज्यान नै जोखिममा परेको बताए ।

२०७४ सालदेखि डायलासिस सेवा दिन थालेको अस्पतालले २०७७ पुसबाट उक्त सेवा ललितपुरको बिरंग हेल्थ केयरलाई जिम्मा दिएको हो ।

बुबालाई डायलासिस गराइरहेकी एक सेवाग्राहीले अस्पतालको लापरबाहीले रोग सर्ने र बिरामीको ज्यानै जाने डर बढ्दै गएको बताइन् ।

‘अहिले अस्पतालमा डायलासिसका लागि आधारभूत सुविधा पनि छैन’, उनले भनिन्‚ ‘स्वास्थ्यकर्मीहरू पनि नयाँ र सिकारू छन्, जसले गर्दा बिरामीलाई एकदमै सास्ती भएको छ ।’

यस्तो महामारीका बेलामा समेत अस्पतालमा हात धुने साबुन पानीको समेत व्यवस्था नभएको‚ स्यानिटाइजर कहिलेकाहीँ बिरामीलाई दिएपनि कुरुवाले त्यो पनि नपाउँदा समस्या भइरहेको उनको गुनासो छ ।

डायलासिसपछि रक्तश्राव रोक्न गजपिस उमाल्ने गरिएकोमा अहिले त्यो पनि गर्न छाडेको र यसले बिरामीलाई इन्फेक्सन हुने डर बढेको उनले बताइन् ।

अस्पतालको शौचालयले सिंगो अस्पताल नै दुर्गन्धित बनाउने खालको रहेको उनले बताइन् । शौचालय जानुपर्‍यो भने अस्पताल नै छाडेर बाहिर निस्किनुपर्छ । बिरामी कुर्नेलाई बस्ने ठाउँसमेत छैन । अधिकांश समय चिकित्सक अस्पतालमा नआउने तथा नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सिक्ने ठाउँजस्तै बनाइएको उनको भनाइ छ ।

‘बिरामीलाई १२ बजे बोलाएर डाक्टर २ बजेमात्र आउँछन्, पहिला चार घण्टासम्म हुने डायलासिस अहिले ३ घण्टामा झारिएको छ र यो पर्याप्त पनि छैन । अनि समय माग गरेको डाक्टर नभई अरु नै आएर बिरामी जाँच्छन् । लापरबाहीले हद नाघ्यो । अब आन्दोलनै गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ‚’ उनले भनिन् ।

अस्पतालमा नयाँ दुईवटा डायलासिस मेसिन थपेपछि बिरामीले झन् दुःख भोग्नुपरेको गुनासो बिरामी र आफन्तको छ ।

नयाँ मेसिन महिनामा १५ दिनभन्दा बढी त ‘बिग्रिएको छ’ मात्र भन्ने गरेको उनीहरूको गुनासो छ । सबै समस्याहरूबारे जिल्ला समन्वय समिति अध्यक्ष सोम पोर्तेल र अस्पतालका मेडिकलका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरसँग कुरा गरेर सिडिओ कार्यालयमा चिट्ठी पठाइएपनि त्यसबारे अस्पताल र सिडिओ कार्यालय दुवै गम्भीर नभएको उनीहरुले गुनासो गरे ।

अस्पतालमा अनुभवी चिकित्सकको अभावमा बिरामी आइसियूमा बस्नुपर्ने अवस्था भएको अर्का सेवाग्राहीले बताए । ‘पुसयता दुईपटक आइसियूमा बस्नुपर्‍यो । पहिले त ठीकै थियो‚ अहिले एकदमै समस्या भइरहेको छ ।’ चार वर्षदेखि डायलासिस गराइरहेकी उनले अस्पतालमा डायलासिस निजीकरण गरेपछि चिकित्सक परिवर्तन भएर समस्या भोग्नुपरेको बताइन् ।

‘पहिलेका अनुभवी डाक्टर कता गए केही थाहा छैन । पहिला सरकारले हेर्दा लकडाउनमा समेत धेरै राम्रो उपचार सुविधा थियो । ठेकेदारको हातमा पुगेपछि मनपरी भएको छ । अहिले त उपचार गर्न गयो‚ समयमा जाँचै हुँदैन । जथाभावी गर्नाले डायलासिसपछि अर्को समस्या देखिने तनावसमेत बढेको छ‚’ उनले भनिन् ।

नयाँ मेसिन ल्याएको भनिएपनि सधैंजसो बिग्रिएको भन्ने र नबनाउनाले झनै समस्या हुने गरेको बिरामीहरुको भनाइ छ ।

अहिलेकै तरिकाले उपचार गर्ने हो भने डायलासिसका लागि नै काठमाडौं जानुपर्ने अवस्था आउनसक्ने उनीहरू बताउँछन् ।

अर्का एकजना बिरामीले त अस्पतालले व्यवस्था गर्नुपर्ने गजपिस छैन भनेर पनि उपचार नगर्ने गरेको बताए । ‘गजपिस सकिएको रहेछ, आज तपाईंको डायलिसिस हुदैन’ भनिदियो । आफू १८ किलोमिटर टाढादेखि आएर पालो कुरेको थिएँ‚ फेरि कहिले आउने ? आफैं गजपिस किनेर ल्याएँ र डायलासिस गराएँ ।’

केही समस्या छ तर यति धेरै छैन : अस्पताल

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुर केही बिरामीको व्यक्तिगत सम्बन्ध र अस्पतालमा हुने राजनीतिले यस्ता कुरा बाहिरिएको दाबी गर्छन् । उनी भन्छन्, ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिप्राप्त संस्थालाई नै अस्पतालमा २५ ओटा डायलिसिस मेसिन राख्ने जिम्मा दिएको हो । नेपालगञ्ज, पोखरा, राप्तिलगायतका अञ्चल अस्पतालले पनि बिरङ्गलाई नै जिम्मा दिएका छन्’, उनले भने‚ ‘अहिले हामी परीक्षण गर्दैछौं । सकेसम्म दैनिक ६० जना बिरामीको डायलासिस गर्नेगरी काम अघि बढाएका छौँ । प्रविधिमा आएको समस्या समाधान गरिरहेका छौँ । यदि बिरङ्गबाट प्रभावकारी काम हुन सकेन भने ठेक्का खारेज गर्न सक्छौँ ।’

यसलाई निजीकरण भन्नुभन्दा डायलासिसलाई थप व्यवस्थित बनाउन लागेको भन्ने अर्थमा बुझ्नुपर्ने डा. ठाकुरको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी मनोज पोखरेल भने डायलासिस गराइरहेका बिरामी र आफन्तको गुनासो केही हदसम्म सही भएपनि अस्पताल त्यति धेरै चुकेको कुरा स्वीकार गर्दैनन् । ‘जुनसुकै सरकारी अस्पतालमा पनि शौचालय फोहोर नै हुन्छ । यो ठूलो कुरा होइन । नयाँ मेसिन धेरै बिग्रिने गरेको कुरा सत्य हो । अहिले अस्पतालमा भएका ५ डायलासिस मेसिनमध्ये दुईवटा नयाँ मेसिन छन् । त्यो मेसिनमा समस्या देखिरहन्छ । नयाँ भएकाले प्राविधिकसँग सम्पर्क गर्दा र प्राविधिक आएर मेसिन बनाउन लाग्ने समयले गर्दा सेवाग्राहीलाई केही समस्या भएको होला, तर सेवा नै ठप्प भएको त छैन नि !’ उनले भने । ‘समस्या कम गर्न डायलासिसको समय घटाएका छौं । अस्पतालमा उपस्थित सबैलाई सेनिटाइजरको व्यवस्था गर्न सकिँदैन, बिरामीलाई उपलब्ध गराएकै छौँ‚’ उनले भने‚ ‘अहिले मेसिन बिग्रेको कुरा अस्पताल प्रशासनसम्म नै आइपुगेको छैन‚’ उनले भने ।

‘शुक्रबार डायलासिस गराउन गएका बिरामीले भने मेसिन बिग्रिएको एक हप्ताभन्दा बढी भएको बताए ।

प्रतिक्रिया