के महिनावारीका बेला कोभिडविरुद्धको खोप लगाउन सुरक्षित छ ?

सन् २०२१ मे महिनादेखि कोभिड–१९ विरुद्धको खोप विश्वभरिका मानिसले लगाइरहेका छन् । भ्याक्सिनका बारेमा फरकफरक प्रतिक्रिया भने आइरहेका छन् । भारतमा कतिपयले महिनावारीको समयमा भ्याक्सिन लगाउँदा महिनावारीमा आउने परिवर्तन ठीक भएको भन्दै वकालत गरेका छन् ।

भारतमा ह्वाट्सएपलगायतका मेसेजिङ एप प्रयोगकर्तालाई मे १ देखि एक वर्षमाथिका सबैलाई खोप लगाउन तयार रहन, खोपको लागि नाम दर्ता गराउनु अघि आफ्नो महिनावारी अवधि ख्याल राख्न र महिनावारी सुरु हुनुभन्दा ५ दिनअघि र सुरु भएको ५ दिनपछि मात्र खोप लगाउन आग्रह गरिएका सन्देश पठाइएको थियो ।

सन्देशमा महिनावारीका बेला यसैपनि प्रतिरोधात्मक क्षमता कम हुने र त्यही बेलामा खोप लिँदा प्रतिरोधात्मक क्षमता झन् घटेर संक्रमण हुने सम्भावना बढ्ने तर खोपको पहिलो डोजपछि भने बिस्तारै प्रतिरोधात्मक क्षमता बढ्दै जाने भएकाले सतर्क रहन पनि आग्रह गरिएको थियो ।

भारतीय सरकारले त्यो सबै अफवाह भएको भन्दै त्यस्तो मेसेज पठाउन रोक लगाएको थियो । भारतका विभिन्न अस्पतालका चिकित्सकहरुले गरेको खोज र राखेको तथ्यांकअनुसार महिनावारीको समयमा खोप लगाउँदा त्यस्तो जटिल समस्या नआउने पाइएको छ । महिनावारी एक प्राकृतिक प्रक्रिया भएकाले यसलाई खोपले खासै प्रभाव नपार्ने चिकित्सकहरुको भनाइ छ ।

तर, कोरोना संक्रमणबाट मुक्त भइसकेका महिलालाई भने महिनावारी चक्रमा केही समस्या देखिएका तथ्यहरू भने भेटिएको छ ।

महिनावारीको कोरोना संक्रमण र खोपसँगको सम्बन्धबारे पर्याप्त खोज अनुसन्धान नभएकाले यसबारे खुलेरै भन्न नसकिने समेत विज्ञहरूको भनाइ छ । लामो समयसम्म कुनै रोग र संक्रमणबाट गुज्रिएपछि महिनावारीमा सामान्य बदलाव आउँदा डराउनुनपर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । कोभिड–१९ भाइरसले प्रजनन प्रणालीमा भने असर पार्नसक्ने अनुमान विज्ञहरुको छ ।

संक्रमणपछि प्रतिरोधात्मक क्षमता कम हुने र केही मानिसलाई फोक्सोसम्बन्धी जटिल समस्याहरू आउने गरेको पाइएको छ । यसले महिलाको प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्न सक्ने संभावना धेरै हुने चिकित्सकहरू बताउँछन् । त्यसैले, महिलाले आफ्नो खानपानमा ध्यान पुर्‍याउनुपर्ने सल्लाह चिकित्सकको छ । पौष्टिक खाना खाने, नियमित कसरत गर्ने र पर्याप्त मात्रामा निदाउने गर्नाले कोरोनापछि सामान्य जनजीवनमा फर्किन छिटो र सहज हुने सुझाव विज्ञहरुले दिएका छन् । यसो गर्नाले महिनावारी चक्रमा आएको परिवर्तन पनि समाधान हुने उनीहरूको भनाइ छ ।

(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

प्रतिक्रिया