सातामा तीन दिन बैँक खुल्ने, सवारीमा जोरबिजोर लागू

हेटौँडा । मकवानपुरमा सातामा ३ दिनमात्रै बैंक तथा वित्तिय संस्थाहरू खुल्ने भएका छन् । सातामा सबै बैंकहरूले आलोपालो गर्दै बिहान ११ बजेदेखि २ बजेसम्म ३ दिन सेवा प्रवाह गर्ने भएका हुन् । मंगलबार कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी र बैंक तथा वित्तिय संस्थाको प्रमुखहरू बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा कोभिड-१९ को जोखिम बढ्दै गएको भन्दै बैंकहरूमा हुने भीडभाड कम गर्न २४ सै घण्टा एटीएम मेशिन सञ्‍चालनमा राखिने भएको छ । सहकारीलेहरूले बजार तथा घरमा गएर नगद संकलन कार्य बन्द गर्ने र आलोपालो गर्दै सातामा ३ दिन बिहान ११ बजेदेखि २ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने भएको छ । बैंकहरूको सेवा प्रवाहको व्यवस्था बैंकर्स एसोसिएसन मकवानपुर र सहकारीको सेवा प्रवाह जिल्ला सहकारी संघले व्यवस्था गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

यसैबीच जिल्लामा बुधबारबाट चल्ने निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ । यसअघि हेटौंडामा चल्ने निजी सवारीमा प्रशासनले जोरबिजोर लागू गरेको थियो ।

बुधबारबाट अर्का सूचना नभएसम्म लामो दूरीका सवारी, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खाद्यान्‍न, खानेपानी, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक तथा वित्तय संस्था, दुरसञ्चार, क्वारेन्टाइन, आइसोलेसन र फोहोरमैला) बाहेकका जिल्लाभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर लागू गर्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसको बैठकले निर्णय गरेको छ ।

बुधबारबाट जिल्लामा सैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्का सूचना नभएसम्मको लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया