जोगवनी नाका : भारतबाट फर्किनेको संख्या बढ्दै, परीक्षणमा जाने कम

विराटनगर । भारतमा रहेका नेपालीहरू नेपाल फर्कने क्रम बढ्दै गएको छ । भारतमा कोरोनाको महामारी फैलँदै जाँदा उनीहरू नेपाल आउने क्रम बढेको हो । कोभिडका कारण बस्नै नसकिने अवस्था आएपछि विराटनगरको रानी नाका हुँदै दैनिक एक सयभन्दा बढी नेपाली एन्टीजेन परीक्षणका लागि नाकामा रहेको हेल्थ डेस्कमा पुग्छन् ।

दुई दिनअघिसम्म नाकामा रहेको हेल्थ डेस्कमा ८ देखि १० जना मात्र परीक्षण गरेर नेपाल प्रवेश गर्ने गरेकोमा यो संख्या बढेर अहिले दैनिक एक सयभन्दा बढी पुगेको हो । भारतमा बढेको कोरोनाको प्रकोपको असर सीमा क्षेत्रमा भने परेको देखिँदैन ।

भारतबाट फर्कने क्रम बढेको जस्तो देखिएपनि यो ठूलो संख्या भने होइन । लामो समय भारत बसेर आएकाहरू सीमा नाकामा आउने गरेको भएपनि भारत आउजाउ गर्ने ठूलो संख्या चोर बोटोको प्रयोग गर्छन् । भारतबाट फर्किनेहरुमा पढाइका लागि गएका विद्यार्थी र उपचारका लागि गएकाहरू धेरै रहेका छन् । कलेजहरू बन्द भएपछि फर्किएका विराटनगर बुद्धचोकका अभिनाश राजवंशीले अनलाइन पढाइ हुने भएपछि आफू फर्किएको बताए ।

No description available.

अहिले भारतमा कोरोना महामारी फैलिएर त्यहाँ बस्नै नसकिने अवस्था आएपछि नेपाल फर्किएको उनले सुनाए । ‘हामी भारतमा बसेर बढ्दा सुरक्षित नै थियौँ,’ उनले भने, ‘संक्रमण भइहाले उपचार नै नपाइने पो हो की भन्ने डर पनि भयो र कलेजले पनि अनलाइनबाट पढाउने भनेपछि नेपाल आएको हुँ ।’

हरेक दिन नै सर्वसाधारणको आउजाउ हुने गरेकाले मुख्य नाका प्रयोग नगर्ने र चोर नाकाको प्रयोग हुनुले पनि तथ्यांकमा कमी आएको हुन सक्ने अधिकारीहरू बताउँछन् । विराटनगर महानगरपालिकाले संचालनमा ल्याएको हेल्थ डेस्कमा आएर परीक्षण गर्ने संख्या पछिल्लो केही दिनमा बढेको डाक्टर कमलकिशोर यादवले बताए ।

गत चैत १४ गतेपछि यो नाका भएर ४२१ जना नेपाल प्रवेश गरेका छन् भने नेपाल प्रवेश गरिएकाहरूमध्ये १२ जनामा एन्टीजेन पोजेटिभ भेटिएको यादवले बताए । ‘नयाँ दिल्लीबाट आउनेहरू बढी संक्रमित भएको पाइएको छ,’ उनले भने । प्रति ५ जनामा १ जना संक्रमित छन् । मुख्यनाकाबाट आउँदा समस्या नभएपनि चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्दा समस्या हुने उनको भनाइ छ ।

भारतले थाल्यो स्क्रीनीङ
खुल्ला बोर्डका कारण भारतबाट आउने नेपालीले कोरोना लिएर आउने डर बढ्दै जाँदा भारतले सीमा नाकामा स्क्रीनीङ गर्न थालेको छ । विराटनगरसँग सीमा जोडिएको जोगबनी नाका र जोगवनीको रेल्वे स्टेशन दुवै ठाउँमा स्क्रीनिङ गर्न थालिएको हो । भारतले थालेको स्क्रीनीङबाट नेपाल प्रवेश गर्नेहरू कोरोना संक्रमित हुन् हैनन् भनेर यकीन गर्न सजिलो हुने रानी हेल्थ डेस्कका डाक्टर यादवले बताए । ‘हामीलाई हिजोसम्म समस्या भएको थियो,’ डाक्टर यादवले मकालु खबरसँग भने, ‘आजदेखि भारतले रेल्वे स्टेशन र सीमा क्षेत्रमा स्वास्थ्यकर्मी राखेर नेपाल प्रवेश गर्ने र भारततर्फ जानेको स्क्रीनीङ गरेको छ त्यसले हामीलाई केही राहत मिलेको छ।’

समस्या चोरबाटो
विराटनगर प्रवेश गर्ने मुल नाका भएर आउनेहरुलाई परीक्षण र उनीहरुको ट्राभल हिस्ट्री राखिएपनि चोर बाटोबाट आउने अहिले समस्याको रुपमा रहेका छन् । नेपालबाट सामान खरिदका लागि जोगवनी जानेहरू तथा चोरी गरेका सामान ओसारपोसार गर्ने झोलेपोके समस्याको रुपमा रहेको छन् ।

No description available.

दुई दिनअघि मात्र सामाजिक विकासमन्त्री उषाकला राई सीमा क्षेत्रमा पुग्दा जसरी भिड लागेको देखिन्थ्यो‚ त्यो संख्यामा कमी आएपनि सर्वसाधारणले प्रहरीलाई नटर्ने गरेको सुरक्षाकर्मी बताउँछन् । स्थानीय नागरिकले नै सहयोग नगर्ने र उनीहरु आफैँ जबरजस्ती भारत जाने/आउने गर्न खोज्दा झडपसमेत हुने गरेको उनीहरुको भनाइ छ । मंगलबार पनि भारतको टिकुलिया नाका हुँदै नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जानेहरुको उस्तै नै भिड थियो ।

सीमा नाकामा पुगेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तिर्थ पौडेलले कोभिडको संक्रमण बढ्दै जाँदा सीमामा पनि बिस्तारै कडाइ गर्दै लगेको मकालु खबरलाई बताए । एसपी पौडेलले स्थानीय केही युवालाई स्वयंसेवीको रुपमा प्रयोग गर्न सकिए नाकामा कडाइ गर्न सहज हुने उनको विश्वास छ । मटेरुवा, ईस्लामपुर र टिकुलिया बस्ती हुँदै आउने नाकालाई चोरबाटोको रुपमा प्रयोग गर्दै आएका छन् । यही नाकामा झोलेपोकेको भिड लाग्ने गरेको छ । उनीहरुसँगै भारतबाट फर्किने पनि यही नाका भएर आउने गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया