चौँरी महोत्सव, केही सम्झनाहरू

२०७७ सालको अन्तिम दिन पाँचथर सदरमुकाम फिदिमबाट मोटरसाइकलमा कच्ची बाटो हुइकियौँ । फिदिम–फालोटको बाटामा मोटरसाइकलको पछाडि बसेर धुलो र हावासँगै अनेकन नवितम दृष्यलाई आखाँमा राख्दै यात्रा अघि बढ्दै थियौं । घाम ढल्किने बेला त भइसकेको थिएन, तर मौसम भने शितल नै थियो । यात्राको सन्दर्भ थियो, चौथो चौँरी महोत्सव ।

अहिले सोचिरहेको छु कि कहिलेकाहीँ त कफी पिउने भेटले पनि सन्जोक निर्माण गर्छ । पूर्वी पहाडको फिदिम उपत्यकाजस्तो छ । दैनिक साथीभाइसँग भेट भएर कफीको बाहाना पारेर अनेकन विषयमा छलफल, बहस तथा नवितम योजना बारे कुरा गर्छौं, या भनौँ कहिलेकाहीँ साथिभाइलाई कुराले उडाउँछौं पनि, यहि बेला फालेलुङ गाँउपालिकाको फालोट/तीन सिमाना क्षेत्रमा चौथो चौँरी महोत्सवको पत्रकारसम्मेलन हुने खबर आयो । यही खबरले हाम्रो ध्यान चौँरी महोत्सवतर्फ मोडियो ।

कफी पिउँदा पिउँदै हामी विषयान्तर हुन्छौँ, यसरी नै मोडिन्छौँ ।

नेपाली नयाँ वर्षको स्वागत गर्न कहाँ जाने‚ के गर्ने भन्ने सोच्दै गर्दा आएको यस्तो म्यासेजले सबैको ध्यान त्यता तानेको हो । महोत्सवमा जाने भनेर साथीहरुको योजना बन्न थाल्यो, मबाहेक । किनकी म त्यति टाढा जान सक्छु कि सक्दिनँ भन्ने थियो । फेरि साथीभाइ भन्छन्- बाइकमा जानुपर्छ, रमाइलो पनि हुन्छ ठाँउठाँउमा फोटो खिच्दै, रिर्पोटिङ गर्दै जान पाइन्छ । लोभ लाग्ने नै भयो ।

बाइकको त्यति लामो यात्रा, उतै बस्दै जानुपर्ने मलाई केही गाह्रो होला जस्तो लाग्यो । तर जाने हुटहुटी बढ्यो । गतवर्ष कोरोना कहरले हुन नसकेको चौँरी महोत्सव यसपाली हुँदै थियो । साथीहरू महोत्सवमा जाने योजनामा रमाउन थाले । कफी पिउँदै गरेपनि मन दोमन भइरहेको थियो– जाउँ कि नजाउँ ?

मेरो लागि चौँरी नयाँ विषय थियो । तस्बिरमा मात्र चौँरी देखेको । ३ या ४ कक्षातिर हो‚ नेपाली किताबमा हिमाली भेगमा पाइने जनावर भनेर पढेको हो चौँरी । चौँरीबारे किताबबाट जानेको मात्र हो । तराइको बासिन्दा हुनाले उच्च पहाडी, हिमाली जीवजन्तु हेर्न पाइने भनेको किताबमै मात्र हो । सन्जोगले अहिले पहाड स्थायी थातथलो बनेको छ ।

मेरो धेरैजसो बालापन तराईमै बित्यो । चौँरी हेर्ने, चौँरी डुल्ने पहाडका टाकुरा पैतालाले छुँदै यात्रा गर्ने, उच्च पहाडी भेगलाई महशुस गर्ने अनि तस्बिरमा देखेको त्यो भूगोल र जनावरलाई नजिकबाट स्पर्श गर्ने यो महोत्सव मेरा लागि अवसरजस्तै लाग्यो ।

यस्तै बेला एउटा साथीले सोध्यो‚ ‘जाउँ‚ होइन फालेलुङ ?’ मुखबाट जवाफ फ्याट्ट फुत्कियो‚ ‘जाने भने जाउँ ।’ शायद मनले निर्णय गरिसकेको थियो‚ यो अवसर खेर फाल्नु हुँदैन । अलिअलि साह्रो गाह्रो पर्ला, त्यसलाई सहुँला बुझाउँला । आखिर, केही पाउन केही गुमाउनै पर्‍यो नि ।

यसरी योजना बन्यो । फिदिमबाट पौने ३ बजेतिर हाम्रो टोली निस्कियो । कतै धुलाम्य बाटो त कतै ग्राबेल, कतै हेर्दै डर लाग्ने भीर त कतै छाङ्गाजस्तो बाटो । कतै खेतका फाँट आउँथे, कहिले भिरालो जमिन, खोला खोल्साहरू कति हो कति ।

कहिले को अघि त कहिले को पछि, यात्राका धुलोका कणजस्तै मसिना कुरा पनि याद हुनेगरी आइरहेका थियो ।

किनकी यस्तो लामो र पहाडको यात्रा मेरो जीवनकै यो पहिलो थियो ।

आहा ! कति सुन्दर प्रकृति…
गाउँहरू छिचोल्दै अघि बढ्दैगर्दा घरिघरि त लाग्थ्यो कि यो ठाउँ छाडेर अगाडि जानै नपरोस् । यहाँको सुन्दर र मनमोहक प्रकृतिमा निलो आकाश ओडेर यतै बसौं, यतै बिताऊँ बाँकी जीवन । तर यो त भावुकताको कुरामात्र न थियो, लोभलाग्दा दृष्य छोड्दै अघि बढ्दै जानुको विकल्प थिएन ।

खेतबारीमा काम गरिरहेका, वस्तुभाउ चराइरहेका दिदीबहिनी दाजूभाइ देख्दा म पनि गाउँले परिवेश सम्झिरहेको हुन्थें ।

जन्मिन पहाडमै जन्मिएपनि बढे हुर्केको तराईमा भएकाले पहाडलाई राम्रोसँग चिन्न पाउने अवसर आज उपयोग गरिरहेको छु म । धनकुटा बजार अनि फिदिमबाट परपर देखिने चुच्चा चुच्चा थुम्कामात्र हो मैले पहाड बुझेको भनेको ।

टोलीमा प्रकाश नेपाल, गिरिराज बाँस्कोटा, दिपक बोहोरा, विष्णु अधिकारी, कमल घिमिरे थिए । नागिनको पुलभञ्ज्याङ बजारमा खाजा खाने बेला टिआर रिमाल र उसका साथीहरूसँग भेट भयो ।

आकासे नजिकबाट फिदिम नगरपालिकालाई छाड्यौँ । फालेलुङ गाँउपालिकाका बस्तीहरू थिए । ढुङ्गामाटो र काठका घर थिए । गाउँ गाउँ भनेर टाढा सम्झिने भन्दा पनि विकासका आयामहरू बन्दै र बढ्दै गएको देखिन्थ्यो । सुविधाले जनजीवन केही सुविस्तायुक्त बनाएको थियो ।

सिदिनको बाँसबोटे भन्ने ठाँउबाट फिदिम–फालोट सडकलाई छाडियो । यहिँनेर बगाले भन्ने गाउँमा भेटियो झुरुम्म घर, निलो टिनका छाना, बढीजसो लिम्बू बस्ती । यहाँका मित्र धनकुमार लावतीलाई पनि सम्झिएँ । लुकाउनुपर्ने कुरा बोल्दाबोल्दै खुस्काइहाल्ने भएपनि सहयोगी यी मित्रको गाउँ उनीजस्तै सुन्दर र निश्चल लाग्यो मलाई । त्यो गाउँ अहिले पनि आँखामै छ ।

धुलो यति थियो कि धुलो हामीलाई लागेको हो कि धुलोमा हामी लागेका हौं थाहा पाउने अवस्था थिएन ।

सिदिनबाट मेमेङ तर्दै गर्दा झोलुङ्गे पुलबाट बाइक तार्नुपर्दो रहेछ । मान्छे हिँड्ने बाटोबाट बाइक कुदाएर पुल तार्नुपर्ने ।

अलि डरमर्दो यात्रा त्यहाँ थियो । जिस्क्याउँदै थिए साथिहरू मलाई ‘देख्नुभयो पहाड ?’ भन्दै ।

मलाई त बढो रमाइलो लागिरहेको थियो । पहाड, वन क्षेत्र कट्दै जाँदा कति सुन्दर लाग्ने । पहाड एकपछि अर्को आइरहने । क्षितिज त कति टाढा हो टाढा । गोधुलीमा यी गाँउहरू कति सुन्दर देखिएका । खेतबारी, साना नानीहरू गाउँ भनेको सभ्यता, संस्कृति जोगाउने ठाउँ पनि त हो ।

झमक्क साँझ पर्दै जाँदा घुम्तिहरुमा हाम्रै बाइकको लाइन देखिन्थ्यो र पनि बस्ने स्थान आइपुगेको थिएन । बाटोमा बनाइएका स्वागतद्वारले नजिकै पुगिहालिएको आभास दिँदै थियो । पारीपट्टी प्राङ्बुङले पनि स्वागतको हात हल्लाउँदै थियो । आयोजक सुनिल बान्तवा दाइको फोन आउँदै थियो- गणेश थाम्सुहाङको घर स्वागत गर्न आँतुर छ भनेर ।

करीब ७ बजे हामी गणेश दाइको घर पुग्यौँ । दाइको आत्मीय स्वागत थियो । मेमेङका डाँडामा रहेका घरमा हाम्रो बास थियो । वारीपारी बत्ति झलमल थिए । भीड थिएन, कोलाहल थिएन ।

खाना खाने अलि माथि रहेछ । हामी निकै जना भेला भइसकेका थियौं । धरानमा हुँदा नयाँ वर्षको अघिल्लो दिन कुनै रेस्टुरेन्टमा न्यू इयर इभ मनाइरहेका हुन्थ्यौँ । तर यसपल्ट फरक अनुभूति भइरहेको थियो । त्यहाँ डान्स लाइट होइन‚ कुप्पीले उज्यालो दिइरहेको थियो । खाना उस्तै मीठो, अझ मीठो थियो त्यहाँको आतिथ्यता र सत्कार । त्यस्तो सत्कार सहरमा कहाँ मिलोस् ?

मैनबत्ति बालियो । गाउँ सुनसान थियो । बस्ती पातलो भएर पनि र भएका बस्तीमा मानिस कम भएर पनि । कसैले गीत बजायो– केही मीठो बात गर‚ रात त्यसै ढल्किँदैछ… । २०७७ सालको अन्तिम रात निक्कै रमाइयो भयो ।

सूर्योदयसँग हामीले नयाँ वर्षलाई स्वागत गर्‍यौं । अग्ला पहाडको काखमा नयाँ वर्षको शुभकामना साट्यौँ । बिहान चौँरी महोत्सवका लागि आइपुगेका थप साथीहरू भेटिए । स्टीलको कपमा मगमगाउँदो कालो चिया पिउँदै गर्दा म भावनामा पनि बग्दै थिएँ ।

सात बजे हिँड्ने भनेको तर झण्डै आठ बज्दा मात्र यात्रा सुरु भयो । धुलोमा बानी हुँदै गइयो । जति उकालो लाग्यो‚ उति फराकिला डाँडाहरू भेटिए । गाँउहरू तल लाग्न थाले । गाडीका हुटमा बसेका तन्नेरीहरूले हात हलाउँदै, गीत गाउँदै आत्मीयता साट्दै थिए ।

लेक चढ्दै जाँदा गुराँसका फूलहरू भेटिए । हाम्रो टोली रोकिदै फोटो खिच्दै टिकटक बनाउँदै र आफूलाई चाहिने सामग्रीको भिडियो बनाउँदै अगाडि लागिरहेको थियो । गुराँसको फेदमा उभिँदा सबिन राईको ‘गुराँसको फेद मुनि सम्झनाको छाँया…’ गीत गुनगुनाउनै पर्‍यो ।

रातो, सेतो अनि गुलाबी रङका गुराँस देख्दा अद्भुत आनन्द आस्वादन भइरहेको थियो । अब मुटुसम्म पुग्नेगरी चिसो बढिरहेको थियो । अलिअलि गर्दै जब गन्तव्य नजिकिँदै थियो । गन्तव्यमा चाँडो पुग्ने अभिलाषा थियो । सशस्त्र प्रहरीले केही समयअघि स्थापना गरेको बोर्डर आउटर पोस्ट (बिओपी) नजिक पुगेर बाइक थन्क्यायौं । त्यहीँ नजिकको चौँरी गोठमा खानाको प्रबन्ध मिलाइएको रहेछ ।

खाना खाएर चौँरी हेर्न लाग्यौँ । त्यो उकालीलाई पनि गुराँसले सुगन्धमय बनाएको हुनुपर्छ नत्र त त्यस्तो सुगन्ध अन्त कहाँ ?
तीन सिमाना करिब ३ हजार ६ सय मीटर उचाईमा छ । यसको आसपासमा चौँरी महोत्सवको माहौल थियो । महोत्सवमा त कति धेरै मान्छे आएका ।

ठाउँ ठाउँका आगन्तुकहरू त्यहाँको मनमोहक दृश्यले रमाइरहेका थिए । मैले चौँरी गाईमात्र देखिनँ‚ चौंरीका विभिन्न प्रजाति पनि देखें, झालेमाले बनाएर ल्याइएका चौँरीका विभिन्न प्रजातिमध्ये फोक्जो, उरिङ जातका चौँरी पनि देखें, चौँरीको छुर्पी, भेडाको उनबाट लुगा, भेडाको घिउ, रैथाने चियालगायत त्यहाँका आकर्षण थिए । उडूँ कि गुडूँजस्तो भयो । चौँरी महोत्सवको सन्दर्भले हामी तीन सिमाना पुग्यौं । सिक्किम भारतसँग नगाभिउन्जेल नेपाल, भारत र सिक्किमको सिमाना भएकाले तीन सिमाना भनिएको रहेछ । अहिले भारतको सिक्किम र पश्चिमबङ्गाल र नेपालको फालेलुङ गाँउपालिकाको सिमाना जोडिन्छ ।

यो उच्च पहाडमा भारतसँग सिमाना जोडिएको यो क्षेत्र पुग्दा राष्ट्रियताको भाव थप उच्च भएको थियो । सीमा स्तम्भमा उभिएर फोटो खिचियो । पारीपट्टि भारत र वारीपट्टि नेपालको सिमाना पुग्दा हामी सबैले एकैपटक जसो गाएका थियौं– जे गर‚ जसो गर‚ जतासुकै लैजाउ मलाई‚ यो मन त मेरो नेपाली हो…

करिब ३ किलोमिटरको पैदल यात्राका क्रममा देखिएका चौँरी, पर्यटकको भीड‚ अग्ला चुच्चा ढुङ्गा, पैदलयात्रीका लागि बनाइएको साना सुन्दर गोरेटा हरिया डाँडा अनि पर–पर देखिएका राताम्य गुराँस । मैले स्वर्ग भनेकै यही होला भन्ने अनुमान लगाएँ । तीन सिमानाबाट तल तलका ठाउँ हेरेँ । मभन्दा माथि त आकाश थियो । ध्वजापताका हावाले उडाउँदाको दृष्य सपनामा पनि देख्छु अचेल । शायद औधी मन परेर मनमै गडी बसेको हुनुपर्छ त्यो दृष्य ।

यात्राको रमाइलो साथीहरुको चटपटे र नक्कले पारा पनि थियो । बाटोमा भेटिएका युवतीसँग गीत गाउने, गाउँदै फोटो खिच्न कुदिहाल्ने र रमाइलो गर्ने बढो फर्स्याइँलो पारा थियो उनीहरुको ।

स–सना पोथ्रापोथ्रीसँग साइनो गाँस्दै, थुम्का थुम्कीमा ओत लाग्दै, हाम्रो अन्तिम गन्तव्य पुग्यौँ । ढुङ्गामाथि ढुङ्गा राखेर, राता‚ सेता‚ पहेला तोरण टाँगेको दृश्य पनि कम रोमाञ्चक थिएन । तीन सिमाना लेखेको बोर्ड छेउमा फोटो खिच्न पालै कुर्नुपर्‍यो । डाँडाभरि मान्छे र चौँरीको भीड थियो । चौँरी डुल्ने लेकमा हामी निस्फिक्री घुम्दै रमायौँ ।

यो यात्रा केवल यात्रामात्र भएन एउटा मीठो सिकाइ पनि भयो । औपचारिक कार्यक्रम भयो । गोठ पाल्ने दाजूभाइ खुसी देखिन्थे । चौरीसँग सेल्फी खिच्नैपर्‍यो । लेकमा चौँरी महोत्सव गर्न आयोजक र गोठ सञ्चालकहरुले निक्कै दुःख गरेको देखियो । चारराते भन्ने स्थानमा यसअघि तीनवटा चौँरी महोत्सव भएपछि यसपल्ट भने तीन सिमाना/फालोट क्षेत्रमा भएको थियो ।

मेरो लागि नयाँ वर्ष साँच्चै नयाँ वर्षजस्तै भयो । यसअघि कहिल्यै नभएको फरक र विशेष अनुभव र अनुभुतिसहितको ।
केही साना गल्लीले ठूलो आशा जगाएका थिए ।

सानो घरमा मीठो आतिथ्यता झल्किएको थियो ।

मधुरो बत्तिले मनमा एउटा छुट्टै ननिभ्ने दियो जलाएको थियो ।

अविस्मरणीय भयो, नयाँ वर्षको चौँरी महोत्सव यात्रा । थाकियो‚ तर त्यो थकानको तुलनामा कति हो कति बढी रमाइलो अनुभव बटुलेर हामी फर्कियौं ।

आखिर रोमाञ्चक अनुभुति क्षणिकमात्र न हो, फेरि जीवनको उही लयमा त फर्किनैपर्छ…

प्रतिक्रिया