जसपाले निर्णय लिए तत्कालै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्धको अविश्वास प्रस्तावको अन्तिम तयारीमा जुटेका छन् । माओवादी नेता लीलामणि पोखरेलले मकालु खबरलाई बताएअनुसार नेताहरु अन्तिम तयारीमा जुटेका हुन् । ‘अब तयारीमा त पहिलेदेखि नै हो,’ नेता पोखरेलले भने– ‘खासगरी जसपाले निर्णय लिइसकेको छैन । उसले निर्णय लिइसकेपछि केही होला ।’

जसपाभित्र वर्तमान सरकारलाई साथ दिने कि नदिने भन्ने सन्दर्भमा प्रष्ट दुई खेमा बनेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव वर्तमान सरकारलाई कुनै पनि हालतमा विस्थापन गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नो माग पूरा भए वर्तमान सरकारमै सामेल हुने मनस्थितिमा छन् । यसै विषयमा टुङ्गोमा पुर्याउन मंगलबार पार्टी कार्यालय बालकुमारीमा जसपाको शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । नेता मोहम्मद इस्तियाक राईले बताएअुनसार आजको बैठकमा सोही विषयलाई टुङ्गोमा पुर्याइने छ । ‘जसपाभित्रको वर्तमान राजनीतिलाई सुल्झाउनेगरी बैठक बसिरहेको हो,’ राईले भने– ‘आशा छ विवाद टुङ्गोमा पुग्छ ।’ स्रोतले मकालु खबरलाई बताएअनुसार जसपाले निर्णय लिए प्रधानमन्त्रीविरुद्ध भोलि नै अविश्वास प्रस्ताव ल्याइनेछ । स्रोतले भन्यो– ‘यदि जसपाले निर्णय लिए आजै नै भोलि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइनेछ । उहाँलाई प्रधानमन्त्रीको रुपमा रहन नैतिकताले दिँदै दिँदैन ।’

नयाँ सरकार गठनमा जसपा निर्णायक पार्टी हो । संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये चौंथो ठूलो पार्टीको अनपस्थितिमा अन्य दलले अविश्वास प्रस्ताव ल्याउनुको अर्थ हुँदैन ।

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादीबीच भने ‘अन्डरस्टान्ङ्गि’ भइसकेको एक अर्का माओवादी नेताले मकालु खबरलाई जानकारी दिए । ‘कांग्रेस र हाम्रो बीचमा सबै कुरा मिलिसकेको छ । अब मात्रै जसपाले सकारात्मक निर्णय लियो भने हामी अघि बढिहाल्छौँ ।’ पछिल्ला केही दिनका निरन्तर छलफलपछि कांग्रेस र माओवादी केन्द्र जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया