फ्लोर क्रस गर्ने कर्णालीका चार जना सांसद पदमुक्त

सुर्खेत । फ्लोर क्रस गरेर सरकारलाई विश्वासको मत दिएका कर्णाली प्रदेशका एमालेका चार जना प्रदेशसभा सदस्यहरुको पद गुमेको छ ।
सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा दलको ह्वीपविपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वाला, कुर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढा प्रदेशसभा सदस्य पदमुक्त भएका हुन् ।
उनीहरुलाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । उनीहरूले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएपछि बैठकमा उनीहरू पदमुक्त भएको जानकारी गराइएको हो ।
कर्णालीमा यसअघि ४० सदस्य रहेको प्रदेशसभामा अब ३५ जनामात्र हुनेछन् । एमालेका चार र माओवादी केन्द्रका एक जना पदमुक्त भएपछि ३५ सदस्य कायम भएको हो । अब प्रदेशमा एमालेका १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् ।








