कोशी कोभिड अस्पताल : जोखिम भत्ताको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

विराटनगर । प्रदेश सरकारले संचालनमा ल्याएको कोशी कोभिड अस्पतालका नर्स तथा डाक्टरले सरकारले तोकेको सेवा सुविधा दिन माग गरेका छन् । सरकारले तोकेको सेवा सुविधा नदिएको बारेमा सामाजिक विकास मन्त्रालयका सचिवसँग तत्काल सेवा सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।
विराटनगरमा रहेको कोशी कोभिड उपचार केन्द्रमा कार्यरत नर्स तथा डाक्टरले राज्यले जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, तथा होटलमा क्वारेन्टिन व्यवस्थापन हुनुपर्ने माग राखेको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर राज्यले दिनुपर्ने इन्सेन्टिभ र निरन्तरताको विषयमा उनीहरुले कुरा उठाएका थिए ।
प्रदेश सरकारले उनीहरुको माग तत्काल सम्बोधन गर्न सक्ने अवस्था नभएको सचिव कार्कीले जवाफ दिएपछि उनीहरू फर्किएका थिए ।
प्रदेश सरकारले कोभिडको पहिलो चरण शुरु भएको अवस्थामा करारमा २४ जनालाई नियुक्त गरेको थियो । नियुक्त गरिएकाहरुलाई कोभिडको दोश्रो लहर शुरु भएपछि पुनः बोलाइएको थियो । कोभिडको दोश्रो चरण शुरु भएर झापाका संक्रमितलाई अस्पताल ल्याउनुपर्ने भएपछि गत चैत २५ गते ६ जनालाई तत्कालै अस्पताल हाजिर हुन भनिएको अस्पताल श्रोत बताउँछ ।
तत्काल आएका ६ जनाले काम शुरु गरेपछि थप अन्य १८ जनालाई पनि बोलाइएको थियो । उनीहरू काममा आएपनि सेवा सुविधाको बारेमा प्रदेश सरकारले चासो नदिएको उनीहरुको भनाइ छ । मागको सुनुवाई नभएपछि कोशी कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा उपचारमा खटिनुपर्ने डाक्टरहरू आन्दोलित हुने अवस्था आएको हो ।
डाक्टर तथा नर्सहरुले आफ्नो माग मन्त्रालयका सचिवलाई राख्दा सचिवले सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिएको श्रोतले बताएको छ । उनीहरुको मागमा जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने र होटलमै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने माग रहेको जनाइएको छ ।
‘डाक्टरहरुले काम रोकेका छन्,’ कोशी कोभिड अस्पतालका एक कर्मचारीले मकालु खबरलाई भने, ‘आन्दोलनमा रहेका ४ जना डाक्टर काम गर्न अनिच्छुक देखिएका छन् ।’ आन्दोलनको अग्र मोर्चामा रहेका डाक्टर रन्जन भगत, डाक्टर दिपेन्द्र महतो, डाक्टर अतिकुर रहमान र डाक्टर मनिस गोइत छन् । उनीहरुले कामै रोकेका छन् । त्यस्तै नर्सहरुको नेतृत्व विद्या श्रेष्ठ तथा योगिना कटुवाललगायतले लिएका छन् ।
स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार केन्द्रमा भर्ना भएका ३२ जना बिरामी जोखिममा परेका छन् । उपचार केन्द्रमा नियमित अक्सिजन दिनुपर्ने बिरामी भर्ना गरिएको छ ।









