कोरोनाको बढ्दो त्रास : विद्यालय कतै बन्द‚ कतै खुल्ला

विराटनगर । कोभिड-१९ को संक्रमण बढेसँगै विराटनगरभित्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको र कतिपय विद्यालयका शिक्षक तथा विद्यार्थीमा समेत कोरोना संक्रमण भएको पाइएपछि विद्यालय बन्द गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको बैठकले भौतिक रुपमा हुने विद्यालयका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले पूर्वनिर्धारित परीक्षा तथा पठनपाठन २०७८ वैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए । सूचनाविपरीत विद्यालयहरू संचालन भए कारबाही गर्ने समेत बैठकले निर्णय गरेको छ । विराटनगरमा एकसाता यता दैनिक दोब्बरले कोरोना संक्रमित पुष्टि हुँदै आएको छ । आइतबारमात्र विराटनगरमा ८४ जना संक्रमित फेला परेका थिए ।

विराटनगर महानगरपालिकाले बालबालिकाको स्वास्थ्यसँग जोडेर विद्यालय बन्द गराएको अवस्थामा अन्य पालिकाले भने कुनै सावधानी अपनाएको देखिएको छैन । हरेक दिन संक्रमणको दर बढेको बुढिगंगा गाउँपालिकाले कुनै पनि निर्णय नगर्दा संक्रमणको दर घर-घरमा पुग्ने त्रास बढेको छ ।

विद्यालयहरू पहिलाकै अवस्थामा संचालनमा रहेका, उद्योगहरूमा सुरक्षाको मापदण्ड नअपनाइँदा त्यसको असर जिल्लाभरी पर्ने देखिएको छ । बुढिगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले सोमबारदेखि नै विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।

दैनिक संक्रमणदर बढ्दै जाँदा यसको असर छिमेकी पालिकाहरुमा पनि देखिएको हो । ‘सुरक्षाको मापदण्ड अपनाउन भनिएको थियो,’ उनले भने, ‘तर अब कोरोना संक्रमण बढ्दै गएकाले विद्यालय बन्द गराएर बालबालिका र अभिभावकको स्वास्थ्यलाई ध्यान दिनुपर्ने अवस्था आएकाले बन्द गराउने निर्णय भयो ।’

उता विराटनगरसँगै सिमाना जोडिएको कटहरी गाउँपालिकामा पनि विद्यालय बन्द गरिएको छैन । पालिकामा कोरोना संक्रमण नदेखिएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको पालिकाका उपप्रमुख मञ्जीताकुमारी सरदारले जानकारी दिइन् । ‘हाम्रो पालिकामा समस्या देखिएको छैन,’ उनले भनिन्, ‘संक्रमण नै देखिएको छैन भने किन विद्यालय बन्द गर्नु भनेर नगरिएको हो ।’

प्रतिक्रिया