सरुको उद्यम यात्रा: घुम्टोदेखि उद्यमीसम्म !

विराटनगर । विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र हैनन् एक उद्यमी महिला पनि हुन् । उनका बुबा पहिल्यैदेखि नै व्यवसायी थिए । कक्षा १० मा पढ्दादेखि व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनी घरमा बुबालाई सघाउने काम गर्थिन् ।

उनका बुबा बैंकका जागिरे थिए । बैंकको म्यानेजरको जागिर छाडेर उद्योगमा लगानी गरेपछि उनलाई पनि उद्यमबाट नै फाईदा हुने रहेछ भन्ने लाग्यो । ‘मेरा बुुबा व्यवसायी हुन्,’ केसीले भनिन्, ‘बुबाले खोलेको स्टील्स फ्याक्ट्रीबाट नै मेलै पनि उद्यममा लगानी गर्नुपर्ने रहेछ भन्ने सिकेँ ।’ उनी बुबालाई उद्योगमा सहयोग त गर्थिन नै । त्यो बाहेक आफैले पनि केही गर्नुपर्छ भन्ने लागेर सिलाई कटाई गर्ने, हस्तकला तथा शिल्पकला सम्बन्धि आफैले केही गर्नुपर्ने रहेछ भनेर सिक्न थालिन् ।

कसैले लगाएको राम्रो स्वेटर, कुस्र्यो, टिम्याट, झालरलगायतका जे देख्यो त्यही उनलाई बनाउन मन लाग्थ्यो । अनी घरमा आएर बनाउन थालिहाल्ने स्वाभाव थियो उनको । आफुले सिकेको सीप एकातिर थियो भने अर्कोतर्फ घरको फ्याक्ट्री चलाउनको लागि उनले खेल्नु पर्ने भुमिका । कलकतादेखि कालिगढ ल्याउनु पर्ने, आवासीय व्यवस्था गर्नुपर्ने यी सबै काममा केसीले बुबालाई सहयोग गर्दै आएका थिइन् । त्यो बेला २-३ वटा मात्र देशभरीमा स्टील्स उद्योग थिए । पूर्वमा उनका बुबाले चलाएको ‘जयदुर्गे आईरन’ नै पहिलो स्टील्स् उद्योग भएको उनको दाबी छ ।

उनको बुबा बाहिर हिँडिरहनु पर्ने अवस्थामा जेठी छोरी भएकोले पनि सहयोगीको रुपमा उनले भरथेग गर्थिन् । घर मै स्टील्स् उद्योग थियो, त्यसले गर्दाप्नि घरको काम हेर्न सहज भएको उनले सुनाइन् ।

विहेपछि जेलिएको जीवन
‘विवाह गर्नुभन्दा पहिला नै उद्योग कसरी चलाउने भन्ने सबै जानी सकेको थिएँ,’ उनले भनिन्, ‘एसएलसी दिएपछि २ घण्टा कम्प्युटर पढ्ने समयबाहेक सबै समय घरकै उद्योगमा समय दिन्थेँ ।’

आईकम पास गरेर बि.कम पढ्दापढ्दै सिरहाको सुखिपुरका उद्धव केसीसँग सरुको विवाह भयो । २०४९ सालमा उनले वकिलसँग विवाह गरिन् । विराटनगरमा हुर्केकी बढेकी अनि पढेकी सरुको लागि सिरहाको विवाह निक्कै नै कष्टपुर्ण भयो । बिहे त गरिन् तर, उनलाई त्यहाँ बस्नै मन लागेन । बाहिरी खुल्ला संसारमा रमाएकी सरुका लागि त्यहाँ घुम्टोभित्र बस्नुपर्ने बाध्यता आईलाग्यो ।

उनी कतिन्जेल घुम्टोमा बस्ने उनलाई निक्कै नै सकसपुर्ण जीवनबाट बाहिरिन खोज्थिन् । उनले आफ्नो श्रीमान्लाई सिरहाबाट विराटनगरमै बसौँ भन्न थालिन् । केही उद्यम गरेर जीवन गुजारा गरौँ भन्ने सल्लाह भयो । श्रीमान् वकिल भएकोले श्रीमान अदालतमा जाने अनी आफु बालबच्चा हुर्काउने सोचमा आएका उनीहरुको केही वर्ष निक्कै नै संघर्षपूर्ण भयो ।

सिरहामा महिलाले बाहिर हिड्नै नहुने भन्ने पराम्परा थियो । त्यहाँबाट उनलाई सिरहामा बस्नभन्दा बाहिरै हिँड्दा फाईदा छ भन्ने लाग्यो अनि आफ्नै अग्रसरतामा श्रीमानसहित विराटनगरमा आएर बस्न थालिन् । उनीहरुलाई त्यही बेला आर्थिक समस्या आईपर्यो । श्रीमानको वकिल व्यवसाय पनि चलेन, कोठाभाडा तिर्नै समस्या हुन थालेपछि आम्दानीको श्रोतका लागि फेरी उनले बुबालाई सहयोग गर्न थालिन् । बुबालाई सहयोग गर्दा गर्दै उनले बालबालिकाको क्षेत्रमा काम गर्न थालिन् ।

उनले बुबाले संचालन गर्दै आएको फ्याक्ट्रीमा काम गर्दै छोराछोरी पढाउने काम गर्न थालिन् । उनका श्रीमान् त्यही बिचमा अमेरिका हानिए । त्यही पनि दुई छोरीलाई हुर्काकाई बढाइन र पढाउने आफ्नो अभिभारा पनि उनले पूरा गर्दै गइन् । त्यही बिचमा उनको बुबाको निधन भयो । अनी उनले ‘विराट फुड प्रोडक्स’ ४ जनाको साझेदारीमा हेल्थ फुड उद्योग संचालन गर्न थालेकोसुनाइन् । उनलाई त्यसबाट पनि राम्रै फाईदा भएको थियो । ‘साथिभाईसँग कुरा नमिलेपछि त्यो उद्योग बन्द गर्नुपर्यो,’ उनले भनिन्, ‘त्योभन्दा अगाडि नै बुबा, भाई र आफुले संयुक्त लगानीमा काम गर्न थालिसकेको थिएँ ।’

विराट फुड प्रोडक्स बन्द भएपछि उनले फेरी न्युटी केयर फुड प्रोडक्स्मा व्यक्तिगत लगानी गरिन् । त्यस्तै उनले आस्था कृषि औजारसमेत संचालनमा ल्याइन् । आस्था कृषि औजार उद्योग बुबाको निधनपछि उनले भाई र बुहारीसँग साझेदारी गरेकी छिन् । कृृषि औजारमा १४ जना कामदारसहित उद्योग चलाएकी छिन् भने, न्युटी केयर उद्योगमा भने ५ जना कर्मचारी राखेर काम गराएकी छिन् ।

उद्यममा उनको लगानी न्युटीकेयर फुड प्रोडक्स करिब ५ वर्ष पहिला १५ लाखबाट शुरु गरेकी हुन् । त्यस्तै २० लाखबाट शुरु गरेको कृषि औजार उद्योगको लगानी अहिले १ करोड नाघेको उनले सुनाइन् ।

उनले सामाजिक रुपमा सेतो गुराँस बालविकास सेवामा अध्यक्षको रुपमा भूमिका निर्वाह गर्दै आएकी छिन् । बालबालिकाको क्षेत्रमा झण्डै २ दशकदेखि नै निरन्तरता दिँदै आएको उनले अहिले पनि यो कामलाई निरन्तरता दिँदै आएकी छिन् भने आस्था कृषि उद्योग र न्युटिकेयर फुड् प्रोडक्स् संचालन गर्दै आएकी छिन् ।

प्रतिक्रिया