दलहरूको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा : पूर्वराष्ट्रपति यादव

ओखलढुङ्गा । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । ओखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उनले दलहरूबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका हुन् ।

सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरूमा दलहरूबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले राजनीतिक दलहरू मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको बताए ।

‘दलहरूको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरू मिल्नुको विकल्प छैन’, उनले भने, ‘जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरूले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ ।’

संसद् विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनानुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिए ।

प्रतिक्रिया