‘ओलीको दम्भ धरहराभन्दा माथि उक्लियो’

जनकपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ झनै चुलिँदै गएको बताएका छन् । बिहीवार जनकपुरधाम आएका नेता नेपालले अध्यक्ष ओली पार्टी एकताको पक्षमा नरहेको आरोप लगाएका हुन् । शुक्रवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेता नेपालले यस्तो आरोप लगाएका हुन् ।

बिहीवार ओलीसँग काठमाडौंको मेरियट होटलमा भएको वार्ताको फेहरिस्त सुनाउँदै नेता नेपालले ओलीमा झनै दम्भ पलाएको बताए । ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न,’ नेता नेपालले भने – ‘उहाँमा माने मान्, नमाने बाटो खुला छ भन्ने दम्भ छ ।’

बुधवारको भेटले केही आशा पलाएको भएपनि बिहीवारको भेटबाट ओली एकताको पक्षमा नरहेको स्पष्ट भएको नेता नेपालको भनाइ थियो । ‘बरु बुधवार केही आशा पलाएको थियो,’ नेता नेपालले भने, ‘बिहीवारको भेटबाट त उहाँको लाइन प्रष्ट भयो ।’

ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको पनि नेता नेपालको भनाइ थियो । ‘त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन र पार्टी छोड्दैनौँ ।’

प्रतिक्रिया