मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

छोरी मान्छे भएर खित्का छोडेर हाँस्छन् ?

[ब्लग]

सानै बेलादेखि कान्छो हजुरबुबाको एक वाक्यले कान्छी हजुरआमालाई झपारेको खुब सुनेको थिएँ, ‘पोथी बासेको राम्रो हुँदैन, अलच्छिन लाग्छ विचार गरेस् ।’ हजुरआमा पनि चुइक्क बोल्दैन थिइन् । बुढाले ‘तोरीको फूल सेतो हुन्छ नी बुढी’ भन्दा पनि ‘हो त नी सेतै त हुन्छ नि’ भन्ने भईसकेकी थिईन् हजुरआमा । प्रतिवाद गर्ने शाहस नै कहाँ थियो र ?

पोथी बासेको राम्रो हुँदैन भन्नुको अर्थ त्यतीबेला राम्रोसँग बुझ्ने भैसकेकी थिईन म । घरमा मेरा बाले भने आमालाई कहिल्यै त्यस्तरी झपारेको सुनेकी थिइन । मलाई जिज्ञासा लाग्यो पोथी बासेको किन नराम्रो हुने रहेछ त ! घरमा आमालाई सोधैँ, ‘कान्छाबाले कान्छी आमालाई जहिल्यै पोथी बासेको राम्रो हुन्न अलच्छिन लाग्छ, चुप लागेर बस् भन्दै गाली गर्नुहुन्छ त्यस्तो किन भन्नुभएको आमा ? पोथी बास्यो भने के हुन्छ ? अनि कान्छि आमा पोथी हुन् र ?’

आमाले हाँस्दै मलाई सम्झाइन्, ‘कान्छी आमा पोथी होइनन्, कान्छाबाले केटी मान्छे भएर धेरै बोलेको राम्रो हुदैन भनेका हुन् । त्यती पनि बुझ्दिनस् लाटी ।’

मलाई अचम्म लाग्यो केटी मान्छे भएर धेरै बोलेको राम्रो हुदैन रे । अनि केटा मान्छेले चाहिँ जती बोले पनि जे बोले पनि राम्रो हुने ? जती ठूली हुँदै गएँ त्यती नै यस्ता कुरा झन् बढी सुन्दै गएँ । छोरी मान्छे भएर यो गर्नुहुन्न, त्यो गर्नुहुन्न, इज्जत राख्नुपर्छ, यसो गर्दा इज्जत जान्छ, उसो गर्दा बेइज्जत हुन्छ, यस्तै यस्तै…

एकदिन नजिकैका काका बासँग कुरा गर्न घरमा आए । साँझको समय थियो । म काठको मुढोमा सानसँग उपरखुट्टी लगाएर बसेकी थिएँ । घरभित्र पस्न पाएको छैन काकाले प्याच्च मुख फोरिहाले, ‘छोरी मान्छे भएर उपरखुट्टी लाएर बसेकी छे । पँलेटी कसेर बस्नुपर्छ नी । यस्तो स्वभावले त कसैले लाँदैन नि ।’

म चुप लागेर बस्न सकिन जवाफ फर्काएँ, ‘कसैले लानैपर्छ भन्ने छ र ? बा आमाले राखिहाल्नुहुन्छ नी । तपाईको घरमा बस्न आउदिन क्यारे ।’ त्यती के भनेकी थिए काका त झम्टिउला झै गर्न लागे, ‘अझ छोरी मान्छे भएर मुख फर्काउदि रै छे… यसको विहे गरिदिने बेला भएछ दाई…’ बा’ले कुनै प्रतिक्रिया दिनुभएन ।

मेरो मनमा भने यही कुरा खिल झैँ गढेर बसिरह्यो । यो काम गर्नुहुन्छ वा गर्नुहुन्न यसले यस्तो हानी गर्छ भन्ने होइन हरेक कुरा छोरी मान्छे भएकाले गर्नुहुन्न भन्नुले मलाई एकदमै नराम्ररी घोच्थ्यो ।

छोरी मान्छेले कसरी बस्ने ? कसरी खाने ? भन्ने नियम नै छ की क्या हो भन्ने लाग्यो । घरमा म भन्दा दुई वर्ष जेठो दाई थियो । उसलाई कसैले छोरा मान्छे भएर यसरी बस्नु हुन्न, यसरी हाँस्नु हुन्न भनेको सुनिनँ । उसलाई बेलाबेलामा हजुरबा, काकाहरुले यसो चाही भन्थे, ‘तँ छोरो मान्छे होस् । घरका ‘सानोतिना’ काम गर्नुहुन्न । खाना पकाउनु हुन्न, भाँडा माझ्नुहुन्न । रुनु हुन्न । हर कुरा आँट्नुपर्छ । डराउनु हुन्न । देश बिदेश घुम्नुपर्छ ।’ त्यही लहडमा लागेर होला आफ्नो लुगा आफै धुने, खाना बनाउने, भाडा माझ्ने जस्तो काम दाईले कहिल्यै गरेको देखिन ।

ब्याचलर्स सकेपछि दाइ जापान गयोे । जापान पुगेको केही दिनमै भिडियो कल गरेर गुनासो पोख्यो, ‘घरमा काम गर्न सिक्न पाएको भए आज यही काम गर्न मलाई यती सास्ती हुदैनथ्यो होला ।’

बोल्ने, बस्ने कुरामा मात्र होइन हिड्ने, हाँस्ने, खाने कुरामा पनि छोरी मान्छे भएर यस्तो गर्ने ? भन्ने प्रश्न तेर्सिइहाल्छ । एकजना पण्डितले गाउँमा एकादशीको पूजा लगाएका थिए । सबैजना चाख दिएर कथा सुनिरहेका थिए । म पनि आमासँग पुगेकी थिएँ । पण्डितले हाउभाउ दिएर कथाको अर्थ लगाए । उनले लगाएको अर्थ यस्तो थियो, ‘छोरी मान्छे भएर ठूलो डाँकोले बोल्ने, खित्का छोडेर हाँस्ने, धेरै खाने, बिहान अबेरसम्म सुत्ने गर्नुहुन्न । यस्तो गर्ने छोरीमान्छे पापिनी हुन्छन् ।’ त्यो एकादशी महात्म्यको किताबमै त्यस्तो कुरा लेखिएको थियो की पण्डितले बनावटी अर्थ लगाए त्यो उनै जानुन् ।

मलाई अचम्म लागेको कुरो चाहिँ धेेरै जना आमा-काकी, ठूलीआमा हजुरआमाहरुले सुनिरहेको त्यो कथाप्रति कसैले आपत्ति जनाएनन् । कुनै प्रश्न पनि सोधेनन् । हो नि छोरी भएर कहाँ त्यस्तो गर्नुहुन्छ त भन्ने कुरामा शायद सबैजना सहमत थिए । मैले भ्याएसम्म सबैका मुखमा पल्याकपुलुक हेरेँ सबैजना मुग्ध भएर कथा मात्र सुनिरहेका देखिन्थे ।

मलाई थप अचम्म लाग्यो र आक्रोश पनि बढ्यो कथामा पनि ‘छोरी मान्छे भएर’ भन्ने कुरा किन जोडिएको होला ? कोही पनि मान्छे ठूलो श्वरले बोल्ने, अबेरसम्म सुत्ने, चाहिनेभन्दा धेरै खाने, खित्का छोडेर हाँस्ने वा भनौ दोस्रो व्यक्तिलाई असर पर्ने गरी हाँस्ने गर्नु हुदैन भन्ने कुरा ठिक हो । तर महिला वा स्त्री भएर भन्ने कुरा किन जोडिएको भन्ने प्रश्नले मेरो दिमागमा सुइरो झैँ घोच्न थाल्यो ।

म सम्झिन्छु छोरी मान्छे भएकै कारण गाउँघरमा शव छुन दिने, मलामी जान नदिने, बा आमाको काजकिरीयाका लागि बरु अर्को परिवारबाट मान्छे खोज्ने तर सहोदर छोरीलाई नदिने, कुल देवता राखिएका ठाउँमा जान नदिने, जस्ता यावत् बन्देजहरु अझै छन् । भलै ती पहिलेभन्दा केही खुकुलिंदै गएका छन् तर धेरैतिर यस्तो अवस्था छँदैछ ।

छोरी मान्छेले यो गर्ने त्यो नगर्ने भनेर एउटा सीमा रेखा कोरिदिएको छ समाजले । त्यो सिमारेखालाई नाघेर बिद्रोह गर्ने आँट नगन्य मात्रामा भएको पाईन्छ । यसले छोरीहरुलाई थप कमजोर बनाउँछ । शारिरीक बनावटमा रहेका केही भिन्नता बाहेक सबै कुरामा समानता हुँदा पनि छोरी मान्छेले गर्ने हरेक कार्यको अगाडी ‘छोरी मान्छे भएर…’ भन्ने ट्याग झुन्डाइदिएको हुन्छ समाजले ।

मानौं छोरी मान्छे भएर जन्मिएपछि मुसुक्क मुस्कुराउनै पर्छ । आवाज निकालेर हाँस्यो भने सोमत नभएकी, ढङ्ग नभएकी मान्छे हुन्छे । परिवारको इज्जत जान्छ हुँदा हुँदा बिहे गरेर कसले लैजालासम्मको तहमा लगेर जोडिन्छ ।

विवाह गर्न केटा केटीको हात माग्न जाने चलनले पनि छोरी मान्छे भएर कस्तो हुनुपर्छ भन्ने कुराको वकालत गर्छ । दुई वर्ष अघि एकजना दिदीको अगाडी पट्टीको दाँतको इस्युले विवाह नै रोकियो । दिदीले खुब चिन्ता व्यक्त गरिन् । दन्तद्वारे केटी उत्ताउली हुन्छन् भनेर केटी हेर्न गएपछि केटा पक्षले अस्वीकार गरेछन् । औंसीको तिथीमा जन्मेकी छोरीको विवाह हुँदैन भनेर धेरै आमाबुबाले ढाँटेर चिना बनाउने गरेको कुरा पनि गाउँघरमा धेरै नै सुन्न पाइन्छ ।

तर केटा मान्छेका लागि यो कुरा लागू हुँदैन । यसको अर्थ छोरी मान्छे भएपछि जन्मिदै प्राकृतिक रुपमै समाजले निर्धारण गरेको ‘राम्रो गुण’ लिएर जन्मिनुपर्छ । सकेसम्म ‘बत्तीसै लक्षणले युक्त’ हुनुपर्छ । अचम्म त यस्ता गुण र लक्षण तोकिदिने फेरि छोराहरु अर्थात पुरुषहरु छन् ।

छोरीलाई तिमी आफ्नो सहजता हेरे, छोरी भएकै कारण गर्न नसक्ने भन्ने केही कुरा हुँदैन, कुनै बन्देज हुँदैन । तिमि अघि बढ् सिंगो समाजले साथ दिनेछ, भन्ने शाहस दिने खालको व्यवहार कहिले होला समाजमा ? यस्ता कथा वा दृष्टान्त कहिले श्रवण गर्न पाइएला ?

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com