मृत्यु भइसकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी, १० जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाएर जग्गाको कीर्ते गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले मृत्यु भइसकेका झापा विर्तामोडका टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्नका लागि नक्कली टुंगबहादुर बस्नेत खडा गरेर बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय मंगल सिंह राजवंशी, भद्रपुर नगरपालिका-७ ठेगाना भएका ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका-५ ठेगाना भएका ५० वर्षीय लिलाधर राजवंशी, गौरीगंज गाउँपालिका-१ बस्ने भोजपुर तिवारीभञ्ज्याङ्ग-२ घर भएका ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका-८ ठेगाना भएका ४२ वर्षीय भुपदेव कटुवाल, अर्जुनधारा नगरपालिका-५ ठेगाना भएका ५३ वर्षीय लेखनाथ खनाल, विर्तामोड नगरपालिका-४ ठेगाना भएका ३४ वर्षीय गोविन्द वान्तवा, कोटीहोम सुरुङ्गा बस्ने बिर्तामोड नगरपालिका-१० ठेगाना भएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड नगरपालिका-४ ठेगाना भएकी ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका-४ ठेगाना भएका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

उनीहरुले बिर्तामोड नगरपालिका-१ स्थित बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई ठगी गर्ने उद्देश्यले नक्कली बस्नेत खडा गरेर मृत्यु भइसकेका बस्नेतको नक्कली नागरिकता बनाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

उनीहरुले गत वर्षको असोज २८ गते जिल्ला अदालत काठमाडौंबाट झापा विर्तामोड नगरपालिका-२ बस्ने चैतुवारी बाह्रदशी गाउँपालिका-३ घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएका थिए ।

उक्त वारेशनामामार्फत् विर्तामोड नगरपालिका-४ बस्ने रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजीनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी परेको थियो ।

उक्त उजुरीपश्चात १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न हाल फरार अन्य ६ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया