एनआरएनएद्वारा ५७३ घरसहितकाे लाप्राक नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा बनाएको नमुना एकीकृत वस्ती भूकम्प पिडित परिवारलाई हस्तान्तरण गरेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एनारएनएका अध्यक्ष कुमार पन्तले बिहीबार एक समारोहकाबीच नमुना बस्ती भूकम्प पीडित लाभग्राही स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।

२०७३ साल वैशाख १२ गते राष्ट्रपति विद्यादेवि भण्डारीले शिलान्यास गरेको उक्त नमुना एकीकृत वस्ती ५ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

२०७२ वैशाख १२ गतेको विध्वंशकारी भूकम्पले अति प्रभावित गोरखा जिल्लाको लाप्राकका स्थानीयलाई आवास उपलब्ध गराउन एनआरएनएले ५ सय ७३ ओटा निजी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।

उक्त परियोजना ५७ करोड ६६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो । विश्वभर रहेका नेपालीबाट जुटेको सहयोगले वस्ती निर्माण भएको हो ।

नमुना वस्ती हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भन्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एनआरएनएलाई धन्यबाद दिए । उनले यस क्षेत्रको पूर्वाधार विकासलागि प्रतिघर ४ लाख रुपैयाँका दरले २३ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण सम्पन्न भई हस्तान्तरण गर्न पाएको बताए । कार्यक्रममा धार्चे गाउँपालकाका अध्यक्ष सन्तबहादुर गुरुङले एनआरएनएको उक्त सफलताप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया