स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न सञ्चारकर्मीलाई महासंघको आग्रह

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर फैलिएको अवस्थामा सञ्चार माध्यममा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न आम सञ्चारकर्मीलाई पत्रकार महासंघले आग्रह गरेको छ ।

महासंघले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पुरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

साथै महासंघले सञ्चारगृहलाई पनि कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा ध्यान दिई काम गर्न सहज वातावरण मिलाइदिन आग्रह गरेको छ ।

महासंघले समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई महासंघले आग्रह गरेको छ ।

कोरोनाका कारण सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आकलन गर्दै महासंघले सम्रग विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको सयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जि एम, सचिवहरू पवन आचार्य र नारायण सुन्दर किलम्बुका साथै केन्द्रीय सदस्यहरु रहेको समिति गठन गरेको जनाएको छ ।

त्यस्तै कोरोनाको दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न महासचिव रोसन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईँ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू शन्तराम बिडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल, कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको जनाएको छ ।

सम्भावित जोखिमबाट सञ्चारक्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि महासंघले सरकारसँग विशेष आग्रह गरेको बताएको छ ।

सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाइमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासंघले आग्रह गरेको जनाएको छ ।

साथै महासंघ सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्न अपिल गरेको छ ।

प्रतिक्रिया