हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता वैशाख दोस्रो साताभित्रै

काठमाडौं । हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता वैशाखको दोस्रो साताभित्रै हुने भएको छ । दुबै बैंकबीचको मर्जर समतिको बिहीबार बसेको बैठकले सकेसम्म वैशाख १४ गते मंगलबारसम्ममा मर्जर सम्झौता गरिसक्ने निर्णय गरेको बैंक स्रोतले जानकारी दिएको छ ।

‘बिहीबार बसेको मर्जर समितिको बैठकले सकेसम्म वैशाखको दोस्रो साताभित्र मर्जर सम्झौता गर्ने निर्णय गरेको छ,’ स्रोतले भनेको छ । वैठकपछि दुबै वैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय पारित गर्ने बताइएको छ । सम्झौतापछि आवश्यक तयारी पूरा गरेर असार महिनाभित्रै एकीकृत कारोबार सुरु गर्ने समेत बैठकले निर्णय लिएको बताइएको छ ।

मर्जरमा जाँदा दुबै बैंकको स्वाप रेसियो १ः१ रहने भएको छ । बराबर मूल्यांकनसहति दुबै बैकको मर्जर हुने छ । यसले गर्दा दुबै बैंकका सेयरधनीले मर्जरपछि पनि उनीहरुको सेयर कित्ता त्यति नै संख्यामा रहने भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष रहेका पृथ्वीबहादुर पाँडे गाभिएर बन्ने बैंकको अध्यक्ष बन्ने टुंगो लागेको छ ।

यी दुई बैंक गाभिएर बन्ने बैंक नेपालमा हालसम्मकै सबैभन्दा ठूलो बाणिज्य बैंक हुने छ । यी दुबै बैंकको चुक्ता पूँजी झण्डै २५ अर्ब रुपैयाँको हुने छ । यो चुत्ता पूँजी हालसम्म नेपालका बाणिज्य बैंक मध्ये सबैभन्दा बढी हो । गाभिएर बन्ने बैंकको निक्षेप संकलन ३ खर्ब पुग्ने छ भने कर्जा प्रवाह साढे २ खर्बको हुने छ ।

मर्जरपछि पाकिस्तानको हबिब बैंकले लिएको हिमालयन बैंकको २० प्रतिशत सेयर बिक्री गर्ने भएको छ । प्रतिकित्ता २ सय ८३ रुपैयाँमा उक्त संस्थापक सेयर बिक्रीबापत हबिबले ६ अर्ब ४ करोड रुपैयाँ लैजाने भएको छ ।

 

प्रतिक्रिया