विपक्षी एमालेको प्रस्ताव– फागुन २८ यता भएका निर्णय रद्द गरौँ, मिलेर अघि बढौँ

काठमाडौं । विपक्षी एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहितका नेताहरुले फागुन २८ गतेयता भएका निर्णयहरु अवैध भएको दोहोर्‍याउँदै रद्द गर्न माग गरेका छन् ।

१५ स्थायी कमिटी सदस्यहरुद्वारा जारी अपील पत्रमा भनिएको छ– ‘हामीलाई एमालेमा रहन नदिन अनेकौं दाउपेचहरु गरिएका छन् । फागुन २८ को गुट भेलालाई नै केन्द्रीय कमिटी बैठक मान्ने कुराले त्यही देखाउँछ । तर, हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले एमालेको एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनमा रक्षा गरौँ भनेका छौँ । त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णयहरु रद्द हुनुपर्छ र ०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अगाडि बढ्ने भन्ने सन्दर्भमा निर्णय गर्नुपर्छ ।’

अपील पत्रमा आफूहरुको पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अनेकौं विषयमा असहमति भएको उल्लेख छ । ‘हामीसँग पनि उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि अदालतको फैसलाअनुसार, एमाले २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्छ ।’

नवौं महाधिवेशनबाट पारित कार्यक्रमका विरोधी ओली नेतृत्वमा आएपछि कार्यदिशा, विधान र विधि–पद्धति लत्याउनेतिर लागेको आरोप अपील पत्रमा छ ।

गत वर्षको फागुन २८ गते पार्टी अध्यक्ष ओलीले पूर्वमाओवादी पृष्ठभूमि भएका २३ जना नेतालाई विशेष बैठकमार्फत एमालेमा प्रवेश गराएका थिए । विपक्षी एमालले उक्त बैठकको निर्णय नमान्ने अडान लिँदै आएको छ ।

१५ स्थायी कमिटी सदस्यहरुद्वारा जारी अपील पत्रः

प्रतिक्रिया