प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताको ३४ प्रतिशत मात्र प्राप्त

काठमाडौं । नेपालमा कुल प्रतिवद्धताको ३४.१ प्रतिशत मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन’ले यस्तो तथ्य उजागर गरेको हो ।

आर्थिक वर्ष २०५२/५३ देखि २०७५/७६ सम्म २५ वर्षमा नेपालमा कुल ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । यसमध्ये १ खर्ब १० अर्ब ९३ करोड रुपैयाँ मात्रै एफडीआई प्राप्त भएको प्रतिवेदनले देखाएको छ ।

एफडीआई प्रतिवद्धतामध्ये धेरै भारतबाट भित्रिएको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल ३०.६ प्रतिशत वैदेशिक लगानीको प्रतिवद्धता भारतबाट आएकोमा ५६ अर्ब ५ करोड रुपैयाँ भारतबाट मात्र भित्रिएको हाे ।

यस अवधीमा चीनबाट २७ अर्ब ५६ करोड रुपैयाँ, सेन्ट किट्स एन्ड नेभिस आइसल्यान्डबाट २४ अर्ब ९३ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड, सिंगापुरबाट ८ अर्ब ७२ करोड, अष्ट्रेलियाबाट ७ अर्ब ६३ करोड रुपैयाँ एफडीआई भित्रिएको छ । त्यस्तै, युएईबाट ६ अर्ब ८५ करोड, बंगलादेशबाट ५ अर्ब ११ करोड, दक्षिण कोरियाबाट ४ अर्ब ७६ करोड, अमेरिकाबाट ४ अर्ब ४७ करोड र अन्य देशबाट २५ अर्ब १९ करोड रुपैयाँ एफडीआई भित्रिएको छ ।

प्रतिवेदनका अनुसार नेपाल भित्रिएको कुल एफडीआईको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा कुल वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको छ ।

यो अवधिमा ठूला ४९ वटा, मझौला ५१ वटा र साना ४ सय २२ उद्योगमा एफडीआई लगानी भएको छ ।

प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्म प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानी मध्ये ५२ अर्ब २४ करोड रुपैयाँ उत्पादन तथा प्रशोधन उद्योगमा लगानी भएको छ । त्यस्तै, वित्तीय क्षेत्रका सेवा उद्योगमा ५० अर्ब ९ करोड रुपैयाँ, विद्युत्, ग्यास र पानी उद्योगमा ३६ अर्ब ६५ करोड रुपैयाँ, सञ्चार उद्योगमा २६ अर्ब ५७ करोड रुपैयाँ र अन्य उद्योगमा १७ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया