नेकपाको ७२ वर्षे इतिहास, रोकिएन जुटफुटको शृङ्खला !

काठमाडौँ । अनेकौं गुटमा विभाजित नेपालका कम्युनिस्टहरु आज नेकपा स्थापना दिवस मनाउँदै छन् । कोभिड १९ महामारीका कारण सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डका कारण ठूला कार्यक्रम भने हुने छैनन् । ७२ वर्षअघि आजकै दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए । स्थापनाको ७ दशकको इतिहासमा पटक-पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् ।

विवाद, फुट र जुटको श्रृङ्खला जारी रहदा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत सिट जित्न सफल भए । र चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो ।

तर, नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टी बीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् । एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।

केन्द्रीय कार्यालय शिलान्यास
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने भएका छन् । उनी बिहान बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण गर्न शिलान्यास गर्न लागेका हुन् ।

२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको हालैको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको थियो ।

साथै नेकपा एमालेले आजदेखि थापाथलीस्थित नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । भाडामा लिइएको घरमा पार्टी कार्यालय राख्न लागिएको हो । प्रधानमन्त्री ओली बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने कार्यक्रम छ ।

प्रतिक्रिया