सैद्धान्तिक र नीतिगत समस्या समाधान गर्छु : महान्यायाधिवक्ता

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्यायको पाटोमा क्रममा अभियोजनका क्रममा देखिएका सैद्धान्तिक तथा नीतिगत समस्या समाधान गर्ने बताएका छन् ।

बुधबार नवनियुक्त महान्यायाधिवक्ता बडाललाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उनले अभियोजनका क्रममा देखिएका सैद्धान्तिक तथा नीतिगत समस्या समाधान गर्ने बताएका हुन् ।

यसका साथै बडालले चेक अनादरको बैङ्किङ कसुरसम्बन्धी मुद्दामा मिलापत्र गर्ने, पटके कसुर कस्तो अवस्थामा कायम गरेर मुद्दा चलाउने, अभियोगपत्र प्रतिवादी र तिनका कानुन व्यवसायीलाई सुलभ रूपमा उपलब्ध गराउने, बालबालिकाले वयस्कउपर गरेको बिजाइँको आरोपका सिलसिलामा वयस्कबाट बालबालिकाविरुद्धमा पनि कानुनअन्तर्गतको कसुर गरेको अवस्था देखिएमा वयस्कलाई पनि कानुनबमोजिम कारबाही र मुद्दा चलाउनेलगायतका विषयमा अभियोजन अधिकारीहरूलाई ११ बुँदे नीतिगत स्पष्टताको निर्देशन जारी गरी कार्यान्वयनमा ल्याएको बताए ।

महान्यायाधिवक्ता बडालले समाजको हातेमालो आफूलाई आवश्यक रहेको विचार व्यक्त गर्दै कानुनको दायराभित्र सुधार गर्नुपर्ने विषयमा समाजको सुझाब र सल्लाहलाई आफूले सधैँ स्वागत गर्नेसमेत बताए । सङ्गठित अपराधको अवधारणाका बारेमा अनुसन्धान तथा अभियोजन अधिकारीहरूमा सैद्धान्तिक स्पष्टता ल्याउनुपर्ने खाँचो रहेको औंल्याउँदै उनले त्यसमा आफूले समाजबाट ठोस सहयोग पाउने अपेक्षा राखेको बताए ।

फौजदारी कानुन समाजका अध्यक्ष प्रा डा रजितभक्त प्रधानाङ्गको अगुवाइमा समाजका कार्यसमितिका पदाधिकारी सदस्यहरूले महान्यायाधिवक्ताको कार्यालयमा यस्तो बधाई र शुभकामना ज्ञापन गरेका थिए ।

समाजका तर्फबाट बधाई तथा शुभकामना मन्तव्य दिँदै समाजका अध्यक्ष डा प्रधानाङ्गले समाजले भर्खरै काममा गति लिन थालेको र फौजदारी कानुन र न्यायको क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउनका लागि फौजदारी कानुन र न्यायका क्षेत्रका विभिन्न विषयमा अवधारणागत स्पष्टता, सैद्धान्तिक आधारहरू र कानुनी व्यवस्थाबारे कानुन तथा न्यायकर्मीहरूमा स्पष्टता बढाउन समाजले विभिन्न क्रियाकलाप गर्ने बताए ।

प्रतिक्रिया