मालपोतमा छलाङ : चैतमा मात्रै साढे ८ अर्ब राजस्व, साढे २ लाख सेवा प्रवाह

काठमाडौं । मालपोत कार्यालयले प्रवाह गर्ने सेवा र राजस्व संकलन दुवै बढेको छ । अघिल्ला आर्थिक वर्षको तुलनामा पछिल्ला आर्थिक वर्ष र अघिल्ला महिनाको तुलनामा पछिल्ला महिना मालपोत कार्यालयबाट प्रवाह भएको सेवाको संख्या र राजस्व संकलनमा भारी वृद्धि देखिएको हो ।

चालू आर्थिक वर्षको चैत महिनामा देशका १ सय ८ ओटा भूमि सुधार तथा मालपोत कार्यालयले २ लाख ५६ हजार ७ सय ५० सेवा प्रवाह गरेका छन् । गएको फागुनमा यी कार्यालयले २ लाख १४ हजार ४ सय ९१ वटा सेवा प्रवाह गरेका थिए । पछिल्लो प्रत्येक महिना यस्तो सेवा प्रवाहको संख्या बढ्दो क्रममा रहेको भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

मालपोत कार्यालयले प्रवाह गर्ने सेवामा जग्गाको लिखत पास, संशोधन, जग्गा दर्ता, दाखिल खारेज, रोक्का, फुकुवा, जग्गा बाँडफाँट, अपार्टमेन्टको लिखतलगायत पर्छन् ।

त्यस्तै, चालू आर्थिक वर्षको चैत महिनामा मालपोत कार्यालयहरुबाट सेवा प्रवाहमार्फत् ८ अर्ब ५९ करोड ९१ लाख ७९ हजार ५ सय ५१ रुपैयाँ राजस्व संकलन भएको छ । जबकी फागुन महिनामा यस्तो राजस्व ७ अर्ब ५० करोड ९३ लाख ७ सय ९० रुपैयाँ संकलन भएको थियो । सेवा कर, प्रदेशले लगाउने कर, रजिष्ट्रेशन दस्तुर, छुट, द्वार सुविधा शुल्क, पूँजीगत लाभकर, जग्गाधनी प्रमाणपूर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कजस्ता शीर्षकमा राजस्व संकलन भएको तथ्यांकले देखाएको हो ।

मालपोत कार्यालयको सेवा प्रवाहको संख्या र राजस्व संकलनमा यसरी बढोत्तरी आउनुको कारण के हो त ? भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता (निर्देशक) गुरुदत्त सुवेदी भन्छन्‚ ‘मालपोत कार्यालयमा भएको डिजिटलाइजेसनका कारण यो प्रगति भएको हो । विगतमा दैनिक एक सय सेवा प्रवाह हुन्थ्यो भने मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली सुरु भएपछि दैनिक ३ सयभन्दा बढी सेवा प्रवाह हुने गरेको छ ।’

१२६ मध्ये १०८ कार्यालयमा अनलाइन

हाल देशभरका १ सय २६ वटा भूमि सुधार तथा मालपोत कार्यालयमध्ये १ सय ८ वटा कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (अनलाइन प्रणाली) लागू भएको छ । उक्त प्रणालीअन्तर्गत मालपोत कार्यालयका कर्मचारीले प्रवाह गर्ने सेवा र संकलन गर्ने राजस्वको सम्पूर्ण विवरण अनलाइनमार्फत एकीकृत रुपमा सर्भरमा अभिलेखीकृत हुने गरेको छ । कुन मालपोत कार्यालयले कुन दिन के सेवा दियो ? कतिलाई सेवा दियो ? कति राजस्व कुन शीर्षकमा संकलन गर्‍यो ?लगायत सम्पूर्ण विवरण अनलाइनमार्फत् सर्भरमा सुरक्षित हुने गरेको छ । यसले सेवा प्रवाहमा सहजताका साथै छिटो भएको विभागका प्रवक्ता सुवेदीको भनाइ छ ।

बाँकी रहेका १८ वटा कार्यालयलाई पनि चालू आर्थिक वर्षभित्रै अनलाइन प्रणाली सञ्चालन ल्याउनेगरी काम भइरहेको विभागले जनाएको छ । यो प्रणालीअन्तर्गत कर्मचारी र सेवाग्राही दुवैले अनलाइन कनेक्सनमार्फत् प्रणालीमा पहुँच स्थापित गरी सेवा दिन/लिन पाउने भएपछि नेपालको भू–सेवा तथा भू–सेवा अभिलेखीकरणमा उल्लेखनीय सुधार भएको विभागको भनाइ छ ।

त्यस्तै, विभागले १९ ओटा मालपोत कार्यलयमा जग्गा कारोबार गर्ने सेवाग्राहीले अनलाइनबाटै आवेदन दिन सक्ने प्रणाली (पब्लिक एक्सेज मोडुल) पनि सुरु गरिसकेको छ । चालू आर्थिक वर्षभित्रै थप २५ कार्यालयमा यो सेवा विस्तार गर्ने विभागले जनाएको छ ।

यसरी सुरु भयो मालपोतमा अनलाइन प्रणाली

विभागले २५ साउन २०७७ मा काठमाडौंको कलंकी मालपोत कार्यालयबाट अनलाइन प्रणाली सुरु गरेको थियो । सूचना तथा सञ्चार प्रविधि विकास आयोजना (आइसीटी डेभलपमेन्ट प्रोजेक्ट) अन्तर्गत एसियाली विकास बैंकको अनुदान सहयोगमा कलंकीपछि १३ ओटा मालपोत कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याइएको थियो । देशका १४ ओटा कार्यालयमा उक्त आयोजनाअन्तर्गत अनलाइन प्रणालीको सफल परीक्षण गरेपछि नेपाल सरकारले आफ्नो बजेटबाट प्रत्येक आर्थिक वर्ष यस्तो प्रणाली कार्यालयहरुमा विस्तार गर्दै ल्याएको हो ।

प्रतिक्रिया