परीक्षण गरिएकामध्ये झण्डै २५ प्रतिशतमा कोरोना

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकोमध्ये झण्डै २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । परीक्षण गरिएका कूल ९ हजार ६ सय ४७ जनामध्ये २४.३७ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको छ । यस तथ्यांकअनुसार परीक्षण गरेका ४ जनामध्ये १ जनालाई संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २४.३७ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्ला केही दिनको तथ्यांकलाई नियाल्दा यो नै सबैभन्दा बढी संक्रमणदर हो । गत आइतबार ५ हजार ७ सय ८३ जनामा परीक्षण गरिएकोमध्ये १८.९५ प्रतिशत मानिसमा संक्रमण देखिएको थियो भने सोमबार ७ हजार ५ सय ४८ जनामा गरिएको परीक्षणमा १६.९७ प्रतिशत मानिसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी हिजो (मंगलबार) देशभर ८ हजार ७ सय ३८ जनामा गरिएको परीक्षणमा १९.८६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया