नविल बैंकको काेरोनाकालिन अनुभव : कर्मचारीलाई ५० लाख, ३ महिना ‘वर्क फ्रम होम’

  • रोशन कोइराला

कोभिड–१९ महामारी नियन्त्रण गर्न २०७६ चैत ११ देखि सरकारले लागू गरेको लकडाउनका कारण झण्डै साढे ३ महिना सबै क्षेत्रका गतिविधि ठप्प भए । यद्यपी, आवश्यक सेवाको सूचीमा रहेका वस्तु तथा सेवा सुचारु राख्नुपर्ने बाध्यता थियो । अहिले विश्वका धेरै देशजस्तै नेपालमा पनि कोभिडको दोस्रो लहर बढ्दो छ । संक्रमणका बीच पनि आवश्यक सेवाको सूचीमा रहेका बैंक तथा वित्तीय संस्था सुचारु गर्नै पर्ने बाध्यता फेरि पनि छ । गत वर्षको कोरोना महामारी र लकडाउनमा बैंकिङ सेवा सञ्चालनको अनुभव फेरि पनि उपयोगी हुने देखिएको छ ।

महामारी, लकडाउन र आवश्यक सेवा दिनुपर्ने चुनौती

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा आवश्यक सेवाको सूचीमा छ । कोभिड–१९ संक्रमणको महामारी र लकडाउनका बेला पनि यो सेवा सुचारु राख्नुपर्ने बाध्यता र चुनौती हामीमा थियो । त्यतिखेरको मुख्य कठीनाई भनेको कर्मचारीको काम गर्न आउने तत्परता थियो । किनभने छिमेकी देश चीनमा हजारौं मानिसको मृत्युको खबर आइरहेको थियो । अन्य देशमा पनि कोभिड–१९ को संक्रमण र मृत्युको खबर आइरहेका थिए । नेपालमा दोस्रो व्यक्तिमा कोभिड संक्रमण भेटिएपछि ११ चैत २०७६ देखि लकडाउन भएको थियो । त्यसताका कोभिडबारे मानिसमा अन्योल थियो । कोभिड के हो ? कसरी सर्छ ? बच्न के गर्ने ? काम कसरी गर्ने ? जस्ता अनेक प्रश्न एकसाथ उठिरहेका थिए । कागज, नोट छुँदा कोरोना सर्छ भनिएको थियो । मानिस–मानिसबीच २ मिटरभन्दा कमको दूरीमा पनि भाइएरस सर्छ भन्ने थियो । एक मान्छेले अर्को मान्छेलाई भेट्नै नहुने अवस्था थियो ।

निकै मुस्किल अवस्था सिर्जना भइरहेका बेला सरकारले संक्रमण रोक्न लकडाउन गरिदियो । आम मासिन जस्तै बैंकका कर्मचारी तथा सेवाग्राहीमा पनि त्रास फैलियो । लकडाउन सुरु हुँदाभन्दा बढी कोभिड पोजेटिभ केसहरु अहिले आइरहेका छन् । तर, सचेतनाका कारण मानिस मास्क लगाएर हिँडेका छन् । डर कम भएको छ । तर त्यसताका सडकमा हिँड्न पनि नपाउने गरी सरकारले संक्रमण नियन्त्रणका उपाय अपनाएको थियो । बैंक–वित्तीय संस्थाका सवारीसाधान चलाउन राष्ट्र बैंकले पास वितरण गरेको थियो । काठमाडौंमा मात्रै नबिल बैंकका ३१ शाखा छन् । तर, पास भने १० ओटा जति थियो ।

राष्ट्र बैंकले सुरुमा ३० जना कर्मचारीलाई मात्रै कार्यालय जान दिने व्यवस्था गरेको थियो । पछि बढाएर ६० जनालाई जाने दिने भएको थियो । पासले पुग्ने गरी कर्मचारीलाई आलोपालोमा राखेर कार्यालय जाने गरी व्यवस्था मिलायौं । यस्ता सिमितताका बिच काठमाडौंमा २–३ ओटा, पोखरामा २–३ गरी मुख्य शाखाहरु खोल्न थाल्यौं ।

प्रभावकारी बन्यो ‘वर्क फ्रम होम’

सबै कर्मचारी एकैपटक कार्यालय नजाने र घरबाटै गर्न सकिने कार्यालयका कामका लागि ‘वर्क फ्रम होम’को व्यवस्था ग¥यौं । भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) बाट कार्यालयको ‘पिसी’मा कनेक्ट हुने, कार्यालयको कम्प्युटरमा काम गर्ने र भीपीएनबाटै बाहिरने गरी घरैबाट काम भयो । यसले ‘प्रडक्टिभिटी’ अझ बढायो । दूर्गम क्षेत्रमा पनि यसरी नै काम गर्ने सकिन्छ भन्ने नयाँ अनुभव प्राप्त भयो । क्यास काउन्टर चलाउने, ढुकुटीको सामान खोल्ने, खाता खोल्न आउने सेवाग्राहीलाई सेवा दिनेलगायत कार्यालयमै गएर काम गर्नुपर्ने बाध्यताका कर्मचारीलाई कार्यालयमै बोलाएर काम गर्याैं । त्यस्तो अवस्थामा कार्यालय जाने कर्मचारीलाई कर काटेर दिनको १ हजार रुपैयाँका दरले थप प्रोत्साहन भत्ता उपलब्ध गरायौं । त्यसबापत मात्र बैंकले करिब ५० लाख रुपैयाँ कर्मचारीलाई वितरण गरेको थियो । हुन त भत्ताले मानिसको क्षतिपूर्ति गर्न सकिँदैन । तर, घरमा बसेर काम गर्नेभन्दा कार्यालयमै गएर काम गर्नुपर्ने बाध्यताका कर्मचारीलाई थप सुविधा दिनु न्यायोचित थियो । ३ महिनासम्म वर्क फ्रम होम गरेका कर्मचारीलाई कुनै कटौती नगरी तलब उपलब्ध गरायौं ।

बैंकमा कोभिड केस र त्यसपछिको त्रास

बैंकको इटहरी शाखामा पहिलो पटक कोभिड केस देखाप¥यो । यसले त्रास झनै बढ्यो । हामीले त्यो शाखालाई बन्द गरेर निसंक्रमण ग¥यौं । कोभिड भएका कर्मचारीको सम्पर्कमा रहेका व्यक्तिलाई ५ दिन आइशोलेशनमा राखेर पीसीआर टेष्ट गर्यौं । उक्त शाखामा अरु कसैमा कोरोना देखिएन । पीसीआर जाँचको खर्च बैंकले नै व्यहोरेको थियो । १ लाखको बीमा गरिएको थियो । यसले पनि पोजेटिभ देखिएका कर्मचारीलाई केही राहत भयो । बैंकले कर्मचारीलाई हरसम्भव सहयोग ग¥यो । कर्मचारीले पनि बैंक सञ्चालनमा ठूलो सहयोग गर्नुभयो । कर्मचारीमा बैंकिङ पेशामा हामीलाई कसैले बाध्यतामा पारेर ल्याएको होइन, यो त हाम्रो रहरले अपनाएको पेशा हो त्यसैले सेवा गर्नुपर्छ भन्ने भावना जागृत भयो । त्यस्तो असहज परिस्थितिमा पनि कुनै ग्राहकले मैले नविल बैंकबाट सेवा पाइँन भन्ने गुनासो गरेको सुन्नु परेन । भलै जटिल अवस्थामा साविकभन्दा सेवामा केही फरक पक्कै थियो ।

यसरी काम गर्ने क्रममा वीरगन्ज शाखा लगायत केही शाखाका कर्मचारीमा पनि कोभिड देखियो । हामीसँग कुल १ हजार ९ सय कर्मचारी हुनुहुन्छ । आउटसोर्सका कर्मचारी, ड्राइभर र गार्ड गरी करिब ७० जनामा कोभिड देखियो । स्थायी कर्मचारीमध्ये २ सय जनामा कोभिड पोजेटिभ देखियो । कोही सातामै र कोही महिनादिनपछि कोभिड मुक्त हुनुभयो ।

कोभिडको केस देखिनासाथ सुरुमै सिनियर म्यानेजमेन्ट टिमको मिटिङ बसेर हामीले स्वास्थ्य सुरक्षाबारे जनचेतना जगाउन सुरु गरेका थियौं । कर्मचारीलाई मास्क, सेनिटाइजर किनेर वितरण गरियो । सबै शाखामा मानवीय गतिविधि हुने ठाउँमा सेटिाइजर राखियो । फ्रन्ट लाइनमा काम गर्ने सबै कर्मचारीलाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) सेट उपललब्ध गरायौं । यसले डर केही हदसम्म कम गर्याे । त्यसताका अहिलेको जति पनि कोभिड पोजेटिभ केस थिएन । तर, हामीमा कोभिडको अनुभव थिएन । त्यसैले डर बढी थियो । अहिले केस बढी छ, अनुभवका कारण डर कम भएकोले पिपिई नलगाइकन पनि काम गर्न सकिने वातावरण बनेको छ ।

डिजिटल कारोबारमा जोड

नगद कारोबारलाई कम गरेर डिजिटल कारोबार बढाउन सेवाग्राहीलाई प्रोत्साहन गर्याैं । बैंकमा नगई अनलाइनमार्फत नै खाता खोल्ने व्यवस्था गरियो । सेवाग्राहीले पनि बैंकबाट भन्दा डिजिटल कारोबारबाट आवश्यकताहरु पूर्ति गर्ने गरी कारोबार बढाउनुभयो । कुनै सेवा आवश्यक छ भने पहिल्यै जानकारी गराएको अवस्थामा उपलब्ध गराउने गरिएको थियो । एलसी खोल्ने, रेमिट्यान्स सेवा जस्ता सबै काम हामीले सुचारु राखेका थियौं । काउन्टर सञ्चालन, एटीएम सञ्चालन र डिजिटल भुक्तानीलाई चुस्त बनाउन हामी बढी केन्द्रित भएका थियौं । खासमा भन्दा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सबैजसो सेवा र गतिविधि सञ्चालनमै थियो ।

कर्मचारीप्रति कटौती होइन, प्रोत्साहनको नीति

बैंक यहाँसम्म आइपुग्नुमा कर्मचारी वा मानव पूँजीको निकै ठूलो भूमिका छ । त्यसो हुँदा हामीले अन्य संस्थाहरुले जस्तो बिदा, भत्ता, बढुवालगायत कुनै सुविधा कटौती गरेका छैनौं । कर्मचारी कटौती गरेका छैनौं । कोभिड अवधिमा जुमबाट अनलाइन अन्तर्वाता लिएरै भए पनि कर्मचारीको वृत्ति विकासलाई रोकेनौं । कर्मचारीका लागि पनि जनचेतना अभिवृद्धिका कार्यक्रम गरेका थियौं । कोभिड के हो भनेर हाम्रा चिकित्सकले देशभरका हाम्रा सबै कर्मचारीलाई अभिमुखिकरण गर्नुभयो । डाँफे केयरसँगको सहकार्यमा हामीले स्वास्थ्य परामर्श र सल्लाह दिने व्यवस्था ग¥यौं । कर्मचारीका परिवारलाई पनि डाँफे केयरमार्फत स्वास्थ्य परामर्श उपलब्ध गरायौं । केन्द्रीय सम्पर्क विन्दु स्थापना गरेर कर्मचारीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्ने व्यवस्था गर्याैं । आजको मितिसम्म नबिल बैंकमा कोभिड पोजेटिभ केस शून्य भइसकेको छ । केस शुन्य भएको महिनाभन्दा बढी भइसकेको छ । सबै कर्मचारीले पहिलो डोज कोभिड खोप लगाइसक्नुभएको छ । दोस्रो डोज वैशाखमा लगाउने भनेको छ । यसले अझै पनि महामारी आए सेवा सुचारु राख्न हाम्रो आत्मबल बढाएको छ ।

(नविल बैंकको मानव संशाधन विभागका प्रमुख काेइरालासँगकाे कुराकानीमा आधारित)

 

 

 

 

प्रतिक्रिया