सभामुख सापकोटामाथिका तीनवटा मुद्दाको पेसी तोकियो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग सम्बन्धित तीनवटा मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकेको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपसहित मुद्दा चलिरहेका बेला २०६८ सालमा सापकोटालाई मन्त्री नियुक्त गरिएको विरोधमा अधिकारकर्मी र कानून व्यवसायीले दायर गरेको मुद्दा, लामाको हत्याबारे सापकोटाबिरुद्धको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता गर्न नमानेको दाबीसहित पूर्णिमाया लामाले दायर गरेको मुद्दा र पत्रकार कनकमणि दीक्षितले अदालतमा विचाराधिन विषयमा लेख लेखेर अदालतको अवहेलना गरेको दाबीसहित सापकोटाले दिएकाे निवेदनमािथ सुनुवाईका लागि बुधबार पेशी तोकिएको हो ।

सापकोटालाई मन्त्री बनाउन नहुने मागसहित मानवअधिकारकर्मीहरू चरण प्रसाईँ, सुशील प्याकुरेल, मन्दिरा शर्मा, कनकमणि दीक्षित लगायतले निवेदन दिएका थिए । त्यसपछि निवेदकमध्येका दीक्षितले सापकोटाको प्रसंगसहित द्वन्द्वकालीन ज्यादतीमाथि भरपर्दो अनुसन्धान हुनुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने राज्यको दायित्वबारे लेख छपाएपछि अदालतमा विचाराधीन विषयमा लेख लेखेर अदालतलाई प्रभावित गर्न खोजेको दाबी गर्दै तत्कालीन सञ्चारमन्त्री सापकोटाले दीक्षितविरुद्ध सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए ।

आज यी तीनवटै मुद्दाका लागि पेशी तोकिएको हो ।

सापकोटालाई मन्त्री बनाउन नहुने जिकिर गर्दै १० बर्ष अघि दायर भएको मुद्दा संवैधानिक इजलासमा भएकामध्ये सबैभन्दा पूरानो मुद्दा हो । सापकोटा सूचना तथा सञ्चार मन्त्रीबाट हटेर चुनाबबाट विजयी भइ अहिले सभामुख बनेका छन् ।

२०६८ सालमा दायर मुद्दा संवैधानिक इजलास गठन भएपछि यो इजलासमा सारिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

प्रतिक्रिया