माओवादी स्थायी कमिटी बैठक आज पनि, फिर्ता होला सरकारको समर्थन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेबाट पेरिसडाँडामा शुरु हुने बैठकमा ६ कार्यसूचीमाथि छलफल हुँदैछ । नेता लीलामणि पोखरेलले मकालु खबरलाई बताएअनुसार बैठकमा खासगरी ६ कार्यसूचीमाथि छलफल हुन लागेको हो ।

बैठक यसअघि हिजो पनि बसेको थियो । जसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अन्य सदस्यहरुले रिपोर्टिङ्ग गरेका थिए भने अध्यक्ष प्रचण्डबाट वर्तमान राष्ट्रिय राजनीतिका खासखास रुपबारे ब्रिफिङ्ग भएको थियो । यस्तै आज पनि अध्यक्ष प्रचण्डले ब्रिफिङ्ग गर्ने नेता पोखरेलले बताए । ‘खासगरी बैठकका लागि ६ कार्यसूची तय गरिएको छ,’ नेता पोखरेलले भने, ‘त्यही कार्यसूचीमाथि छलफल हुने हो ।’

नेता पोखरेलकाअनुसार आजको बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुनेछ । यस्तै, आगामी केन्द्रीय कमिटी बैठकबारे पनि बैठकले छलफल गर्नेछ ।
अर्का नेता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकमा वर्तमान सरकारको समर्थनबारे पनि छलफल हुनेछ । ‘यससँगै बैठकमा संसद्को चालू अधिवेशन अन्त्य गरेको विषय, कोभिडको दोस्रो लहर तथा विभिन्न पार्टीसँग भइरहेको राजनीतिक वार्तालगायतका विषयमा छलफल हुनेछ,’ नेता श्रेष्ठले भनेका छन् ।

यता नेता पोखरेलले सरकारको समर्थन फिर्ताबारे पार्टीले नै निर्णय गर्ने बताए । नेता पोखरेलले भने– ‘यो पार्टीले गर्ने निर्णय हो । व्यक्तिगत रुपमा टिप्प्णी गर्ने विषयहरु होइनन्, स्वाभाविक रुपमा छलफलहरु अगाडि बढिरहेका छन् ।’ यसअघि केही दिन अगाडि नेता पोखरेलले भनेका थिए– ‘माओवादीले अहिल्यै समर्थन फिर्ता लियो भने केपी शर्मा ओलीलाई बल मिल्छ । माओवादीले यो विषयमा घनिभूत छलफल गरिरहेको छ ।’

प्रतिक्रिया